छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमायालाई

छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमायालाई
सुन्नुहोस्

मुगु :  जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल राराताल क्षेत्रमा आयोजित छैटौँ रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले जितेका छन् । पुरुषतर्फ जुम्लाको तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवर तथा महिलातर्फ पातारासी गाउँपालिका–२ की सुनमाया बुढा विजेता बनेका हुन् ।

रारातालको प्राकृतिक सौन्दर्य तथा खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले विगत ६ वर्षदेखि रारा ट्रेल रन आयोजना गर्दै आएको छ । 
यस वर्ष पनि नेपाली सेनाको हनुमानध्वज गुल्मले आयोजनामा बुधबार सम्पन्न प्रतियोगिताको छैटौँ संस्करणमा १६ किलोमिटर दूरीतर्फ महिला ४९ र पुरुष ३ सय १२ जना गरी एक विदेशी नागरिकसहित कुल ३६१ धावक सहभागी भएका थिए ।

पुरुषतर्फ ३ सय ११ प्रतिस्पर्धीलाई पछि पार्दै दलबहादुर कुँवर प्रथम भए । उनले निर्धारित १६ किलोमिटर दूरी १ घण्टा १५ सेकेन्डमा पूरा गरेका थिए । त्यसैगरी, जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का युवक राज बुढा १ घण्टा १ मिनेट ९ सेकेन्डसहित दोस्रो भए भने मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ ४९ धाविकालाई पछि पार्दै जुम्लाको पातारासी गाउँपालिका–२ की सुनमाया बुढा प्रथम भइन् । उनले निर्धारित दूरी १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पूरा गरिन् । त्यसैगरी, सोही गाउँपालिकाकी राममाया बुढा १ घण्टा १५ मिनेट १ सेकेन्डसहित दोस्रो भइन् भने डोल्पाकी त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायाले १ घण्टा १७ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रथम छायाँनाथ अल्ट्रा रेसको तयारी पुरा
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा आगामी जेठ ३ गते आयोजना हुने ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिताको तयारी पुरा भएको छ ।
अल नेपाल स्पोट्र्स फाउन्डेसन को सहकार्य तथा मुगुम कार्मारोङ गाउँपालिका को आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता पुलु क्षेत्रमा आयोजना गरिने भएको हो । 

आयोजकका अनुसार प्रतियोगिताले धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटन प्रवद्र्धनसँगै छायाँनाथ क्षेत्रको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । अल्ट्रा रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघ ले गर्ने जनाएको छ ।

३० किलोमिटर दूरीको अल्ट्रा रेसमा हालसम्म ८४ जना खेलाडीले नाम दर्ता गराएका छन् । जसमध्ये १५ जना महिला र बाँकी पुरुष खेलाडी रहेका छन्। महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । साथै स्थानीय सहभागीका लागि पाँच किलोमिटर दूरीको ‘फन फर रन’ पनि समावेश गरिएको छ । प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता प्रक्रिया सञ्चालन गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका चर्चित धावकबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । अल नेपाल स्पोट्र्स फाउन्डेसनका संजय अधिकारीका अनुसार एभरेस्ट, मञ्जुश्री, मण्डम तथा हालै सम्पन्न जुम्ला–रारा जस्ता प्रतियोगिता र बुधबार मात्र सम्पन्न भएको नेपाली सेनाले आयोजना गरेको रारा टे«ल रनका विजेता महिला तथा पुरुष खेलाडीहरूले भाग लिने भएका छन ।

ती प्रतियोगितामा प्रथम स्थान हासिल गरेका खेलाडीहरु बिच छायाँनाथ अल्टा« रेसमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतियोगिताका विजेता खेलाडीहरूले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले जनही दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

त्यसैगरी दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रोले एक लाख, चौथोले ७५ हजार तथा पाँचौँ हुने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
स्थानीयतर्फको पाँच किलोमिटर दौडमा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ९८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताले छायाँनाथ धाम को धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रियस्तरमा चिनाउने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.