आक्रमणपछि होर्मुजमा डुब्यो भारतीय जहाज : एक नाविकको मृत्यु, चार घाइते
भारत : होर्मुज जलडमरूमध्यमा भारत गुजरातको एक जहाजमा केही दिनअघि भएको भनिएको आक्रमणमा एक नाविकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जहाजका मालिकले मालसामान लोड गरेपछि जहाज फारसको खाडीस्थित दुबई बन्दरगाहबाट यमनको अल मुकल्ला बन्दरगाहतर्फ गएको थियो । तर युद्धपछि जहाज आवतजावतका लागि अत्यन्त खतरनाक बनेको होर्मुज जलडमरूमध्यमा पुगेपछि जहाजमाथि आक्रमण भयो र केही समयमै डुब्यो ।
जहाज पल्टिने बित्तिकै त्यसमा सवार १८ जना नाविक समुद्रमा हाम फाले । जहाज मालिकका अनुसार आक्रमणकै क्रममा पाँच जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जना अल्ताफ केरको उद्धार ढिलो भएकाले मृत्यु भयो । परिस्थिति हेरेर मृतक नाविकको परिवारले उनको शव दुबईमै अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
जहाजले किन उठायो जोखिम ?
यस्ता जहाजहरू द्वारका जिल्लाको वेरावल, पोरबन्दर, सलाया बन्दरगाह, जामनगरको रोजी बन्दरगाह तथा कच्छका टूना, मुन्द्रा र माण्डवी बन्दरगाहबाट सामान बोक्छन् । इन्डियन सेलिङ भेसल्स एशोसिएसनका महासचिव अदम भायाले सलायाको जहाज ‘अल फैज नूर–ए–सुलेमानी–१’ मे ७ को दिउँसो दुबईबाट यमनको अल मक्का बन्दरगाहतर्फ गएको बताए ।
उनले भने, ‘मे ८ को बिहान जहाजमाथि आक्रमण भयो र त्यो डुब्न थाल्यो । धेरै घण्टापछि सलायाकै अर्को जहाज ‘प्रेमसागर’ उद्धारका लागि पुग्न सफल भयो ।’ अदम भायाको दाबी अनुसार ‘अल फैज नूर–ए–सुलेमानी–१’ इरान–अमेरिका–इजरायल युद्धका कारण क्षति पुगेको पहिलो भारतीय जहाज हो । जहाजका मालिक सुलेमानभाइ भायाले अप्रिलको पहिलो साता अमेरिका र इरानबीच युद्धविराम भएपछि आफूले होर्मुज हुँदै जहाज पठाउने जोखिम उठाएको बताए ।
उनले भने, ‘युद्धविरामपछि अवस्था सुधारिएको थियो । सबै सामान्य जस्तै देखिन्थ्यो । इरानले भारतका लागि कच्चा तेल र ग्यास बोकेका ट्यांकरलाई होर्मुज हुँदै जान अनुमति दिएको थियो । त्यसैले मैले करिब १० दिनअघि यमनबाट दुबईतर्फ जहाज पठाएको थिएँ ।’
जहाजमाथि कसरी भयो आक्रमण ?
सुलेमानभाइका अनुसार ‘अल फैज नूर–ए–सुलेमानी–१’ मे ७ मा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे दुबईबाट यमनका लागि प्रस्थान गरेको थियो । उनले भने, ‘लगभग १२ घण्टाको यात्रापछि जहाज होर्मुज जलडमरूमध्यमा प्रवेश गर्यो । हाम्रो जहाजको ट्रान्सपोन्डर चालू थियो, ताकि वरपरका जहाज र तटीय निकायलाई यो कुन देशको जहाज हो भन्ने थाहा होस् । जहाजमा भारतको राष्ट्रिय झण्डा पनि फहराइएको थियो ।’
‘यसका साथै जहाजमा मालसामान रहेको जनाउने बत्तीहरू पनि बलिरहेका थिए । तर मे ८ मा करिब राति १ बजे ओमानतर्फको समुद्री क्षेत्रबाट हाम्रो जहाजमाथि आक्रमण भयो । आक्रमणअघि कसैले कुनै चेतावनी दिएको थिएन ।’ जहाजमाथि आक्रमण हुँदा अमेरिकी नौसेनाको एक युद्धपोत नजिकै उपस्थित रहेको सुलेमानभाइले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !