इबोलाबाट कंगोमा थप १३१ को मृत्यु : डब्लुएचओले बोलायो आपतकालीन बैठक
कंगो : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोपबारे छलफल गर्न आपतकालीन समितिको बैठक बोलाउने भएको छ । इबोला संक्रमणका कारण हालसम्म अनुमानित १३१ जनाको मृत्यु भएको छ भने ५१३ जना शंकास्पद केसहरू रिपोर्ट भएको स्वास्थ्य मन्त्री सामुएल रोजर काम्बाले जानकारी दिएका छन् । यसअघि ९१ जनाको मृत्यु र ३५० शंकास्पद केस भएको विवरण थियो ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले मंगलबार जेनेभामा विश्व स्वास्थ्य सभालाई सम्बोधन गर्दै महामारीको ‘परिमाण र गतिलाई लिएर गहिरो चिन्ता’ व्यक्त गरेका छन् । उनले आइतबार नै डीआरसी र युगान्डामा फैलिएको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेका थिए ।
डब्लुएचओको आपतकालीन समिति अन्तर्राष्ट्रिय विशेषज्ञहरूको समूह हो, जसले महामारी नियन्त्रणबारे प्राविधिक सुझाव र सिफारिसहरू डब्लुएचओ प्रमुखलाई प्रदान गर्छ । यो पटक फैलिएको इबोलाको कारण बनेको बन्डिबुग्यो स्ट्रेनका लागि अहिलेसम्म कुनै मान्यता प्राप्त खोप वा उपचार उपलब्ध छैन । विगत आधा शताब्दीमा अफ्रिकामा इबोलाका कारण १५ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।
मन्त्री काम्बाले हालको मृत्यु संख्या अनुमानित मात्र भएको र सबै मृत्यु इबोलाकै कारण भएको पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । प्रकोपको केन्द्र डीआरसीको उत्तरपूर्वी इटुरी प्रान्त हो, जुन युगान्डा र दक्षिण सुडानको सीमामा पर्छ । यो क्षेत्र सुन खानीको हब भएकाले मानिसहरूको आवतजावत धेरै हुन्छ, जसले संक्रमण फैलिन सहयोग गरेको छ । संक्रमण पहिले नै नजिकका प्रान्तहरूमा र करिब २०० किलोमिटर टाढासम्म फैलिसकेको छ र डीआरसीको सीमाना बाहिर पनि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !