नेमारको पुनरागमन
रियो द जेनेरियो : चर्चित फुटबलर नेमार जुनियरले ब्राजिलको विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्। लामो समयदेखि चोटको चपेटामा परेका स्टार फरवार्ड नेमारलाई समावेश गर्दै ब्राजिलले बहुप्रतिक्षित फिफा विश्वकप–२०२६ का लागि टोली घोषणा गरेको हो। नेमारले विश्वकप टोलीमा स्थान बनाएसँगै उनको स्वास्थ्य र फिटनेसलाई लिएर हुँदै आएको अड्कलवाजीको पनि अन्त्य भएको छ।
७९ गोलसहित ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता ३४ वर्षीय नेमारले सन् २०२३ पछि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। २०२३ अक्टोबरमा घुँडाको समस्या बल्झिएपछि नेमारले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन्। ब्राजिलका फुटबल विश्लेषक र पूर्वखेलाडीहरूले नेमारको फिटनेसका विषयमा प्रश्न उठाउँदै उनलाई राष्ट्रिय टोलीमा समावेश गर्न नहुने आवाज उठाउँदै आएका थिए। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार साँझ रियो द जेनेरियो आयोजित विशेष कार्यक्रममा प्रारम्भिक सूचीमा रहेका ५५ खेलाडीबाट २६ सदस्यीय अन्तिम टोली घोषणा गर्दा नेमारलाई पनि समेटेका हुन्। २६ सदस्यीय अन्तिम टोलीमा समावेश भएपछि नेमारले अब चौथो पटक फिफा विश्वकप खेल्नेछन्।
गत मेमा ब्राजिलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका एन्सेलोट्टीले नेमारलाई टोलीमा समावेश गरेका थिएनन्। तर, नेमारको फिटनेसलाई लिएर प्रश्न उठिरहेका बेला उनको बचाउ गर्दै विश्वकप टोलीमा समावेश गरेका हुन्। एन्सेलोट्टीले नेमारको अनुभव, टोलीमा हुँदा पर्ने प्रभावलगायतका हवला दिँदै विश्वकप टोलीमा समावेश गरेको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन्। ‘नेमारले आफ्नो फिटनेसमा निकै सुधार गरेका छन्।
त्यसैले यस विश्वकपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ’, एन्सेलोट्टीले भनेका छन्, ‘उनीसँग अनुभव, टिमप्रतिको माया र भिन्नभिन्न भूमिकामा रहेर टोलीलाई सहयोग गर्ने अद्भूत क्षमता छ। चाहे त्यो एक मिनेटका लागि होस्, पाँच मिनेटमा लागि होस् या ९० मिनेटका लागि नै किन नहोस्।’ इटालियन प्रशिक्षक एन्सेलोट्टीले नेमारको भूमिका खेलको परिस्थिति अनुसार निर्भर हुने बताउँदै उनको उपस्थितिले टोलीमा सकारात्मक सन्देश भरेको जिकिर गरे।
करिब तीन वर्षपछि नेमारले राष्ट्रिय टोलीमा पुनरागमन गरेपछि केही चर्चित खेलाडी भने निरास बन्नु परेको छ। चेल्सीका जोआओ पेड्रो र रियल बेटिसका एन्टोनीले अन्तिम २६ मा स्थान बनाउन सकेनन्। यसले ब्राजिलको टोलीलाई उत्साहसँगै निरासा पनि दिएको फुटबल विश्लेषकहरूको तर्क छ। एन्सेलोट्टीले भने यो कुरालाई इन्कार गरेका छन्। उनले युवा फरवार्ड एन्ड्रिक र रायनलाई पहिलो पटक विश्वकप टोलीमा समावेश गरेर ब्राजिलको आक्रमणलाई नयाँ उर्जा भरेको दावी गरेका छन्। अनुभवी र युवा खेलाडीको मिश्रणले उत्कृष्ट नतिजा ल्याउने दावी प्रशिक्षक एन्सेलोट्टीको छ।
जोआओ पेड्रोले आफूले सदैव सर्वश्रेष्ठ प्रदर्शनको कोसिस गर्दै आएको जिकिर गर्दै विश्वकप खेल्ने सपना पूरा हुन नसकेको बताएका छन्। ‘मैले हर समय आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने प्रयास गरेको छ। दुर्भाग्यवस विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्ने मेरो सपना पूरा हुन सकेन’, पेड्रोले इन्टाग्राममा लेखेका छन्, ‘फुटबलमा सुखदुख हुन्छ। म विश्वकप टोलीमा स्थान बनाउन सफल सबै खेलाडीलाई बधाई दिन चाहन्छु। एक प्रसंशकका रुपमा छैटौं पटक विश्वकप ट्रफी आफ्नो देशमा ल्याउन कामना गर्दछु।’
पेड्रो र एन्टोनीसँग चोटका कारण रियल म्याड्रिडका फरवार्ड रोड्रिगो, डिफेन्डर एडर मिलिटाओ र चेल्सीका इस्टाभियोले यसअघि नै विश्वकप गुमाइसकेका थिए। फिफा विश्वकप आगामी जुन ११ बाट सुरु हुँदैछ। जुलाई १९ तारिखसम्म सञ्चालन हुने विश्वकप यसपटक अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। विश्वकपमा ब्राजिल समूह ‘सी’मा छ। यस समूहमा ब्राजिलसँगै हाइटी, मोरक्को र स्कटल्यान्ड छन्। यस पटक विश्वकपमा ४८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिक्रिया दिनुहोस !