सगरमाथा आरोहण गरी फर्कने क्रममा दुई भारतीयको निधन, यो सिजनमा ज्यान गुमाउनेको संख्या सात पुग्यो
ओखलढुंगा : सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको दुःखद निधन भएको छ । पर्यटन विभाग र आधार शिविरस्थित सम्पर्क अधिकृतका अनुसार मृत्यु हुनेमा भारतीय नागरिकहरू अरुणकुमार तिवारी र सन्दीप आरे रहेका छन् ।
यस वर्ष मौसमको प्रतिकूलताका कारण आरोहणको समय निकै छोटिँदा जेठ ६ गते बुधबार एकै दिन कीर्तिमानी २७४ जना बढी आरोहीहरूले सगरमाथाको शिखरतर्फ प्रस्थान गरेका थिए । अत्यधिक चाप (ट्राफिक जाम) का कारण ८ हजार मिटर माथिको डेथ जोनमा लामो समय पालो कुर्नु पर्दा ओर्लिने क्रममा आरोहीहरू गम्भीर बिरामी परेका हुन् ।
तिवारीको जेठ ७ गते बिहीबार प्रसिद्ध हिलारी स्टेप नजिकै र आरेको शेर्पा उद्धार टोलीले तल ओराल्ने क्रममा क्याम्प २ मा निधन भएको बताइएको छ।
यसअघि सगरमाथा क्षेत्रमा दुई नेपाली गाइड र एक उच्च हिमाली कामदार तथा मकालु हिमालमा एक अमेरिकी र एक चेक गणतन्त्रका आरोहीले ज्यान गुमाइसकेका छन् । पर्यटन विभागले यस सिजनमा सगरमाथाका लागि मात्रै इतिहासमै धेरै झण्डै ४९४ वटा आरोहण अनुमति पत्र जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !