इशान र रोहितको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई दियो ३१८ रनको विजयी लक्ष्य
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा कप्तान रोहित पौडेल र इशान पाण्डेको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई ३१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो।
नेपालको लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाएका हुन्। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरेका हुन्। उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी बनाएका थिए।
आसिफले पहिलो विकेटको लागि ओपनर कुशल भुर्तेलसँग ६९ रनको साझेदारी बनाउँदै राम्रो सुरुवात गरेका थिए। कुशल भुर्तेलले ३९ बलमा २९ रन बनाउँदै क्याच भए। आसिफ शेखले ४३ रन बनाए। कप्तान रोहित पौडेलले ४६ रन बनाउँदै एलबीडब्ल्यू आउट भएका हुन्। गुल्सन झा १५ रनमा क्याच भए। दिपेन्द्र सिंह ऐरी ५९ रनमा रनआउट भए।
उनले ३८ रनमा साइतेजा मुक्कामल्लाबाट क्याच ड्रपको रुपमा जिवनदान पाएका थिए। सोमपाल कामी छ र नन्दन यादव १ रनमा रनआउट भए । आरिफ शेख १८ रनमा अविजित भए।
यो नेपालले पहिलो इनिङ्समा बनाएको सबैभन्दा उच्च स्कोर हो। यसअघि नेपालले ओमानसँग ३१० बनाएको थियो। अमेरिकाको लागि शुभम रञ्जानेले सर्वाधिक ३ विकेट लिए। रुसिल उगाकर र मिलिन्द कुमारले १–१ विकेट लिए।
पहिलो खेलमा नेपालले स्कटल्यान्डसँग डकवर्थ लुइस पद्धतीमा २ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस !