टुचेलको इङ्ल्यान्ड टोली चार, विश्वकप खेल्नेदेखि युवा टोलीको मिश्रण
एजेन्सी/लन्डन : आगामी जुन ११ बाट सुरु हुन लागेको फिफा विश्वकप–२०२६ का लागि इङ्ल्यान्डले आफ्नो टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक थोमस टुचेलले शुक्रबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। हेरी केनको कप्तानीमा घोषित टोली सन्तुलित रहेको र विश्वकपमा आफ्नो प्रभाव राख्ने प्रशिक्षक टुचेलले दाबी गरेका छन्। शुक्रबार राति वेम्बली स्टेडियममा आयोजित विशेष कार्यक्रममार्फत इङ्ल्यान्डको टोली घोषणा गरिएको थियो। हेरी केनले तेस्रो विश्वकपमा कप्तानी गर्न लागेका छन्। यसअघि सन् १९५०, १९५४ र १९५८ मा बिली राइटले लगातार तीन संस्करणमा कप्तानी गर्दै राखेको कीर्तिमान केनले बराबरी गरेका छन्।
केनसँगै जोर्डन पिकफोर्ड, जोन स्टोन्स र मार्कस रासफोर्डले पनि तेस्रो विश्वकप खेल्न लागेका छन्। जोर्डन हेन्डरसनले भने सर बबी आर्लटनको चार विश्वकपको कीर्तिमान बराबरी गर्ने छन्। जोर्डन हेन्डरसनको यो सातौं ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुनेछ। उनले चार विश्वकप र तीन युरोकपमा सहभागी लुसी बन्जको कीर्तिमान बराबरी गर्ने छन्।
यसैगरी डेक्लान राइस, जुड वेलिङ्घम र बुकायो साकाले भने दोस्रो विश्वकपमा सहभागिता जनाउँदै छन्। जबकी सन् २०२४ को युरोकप खेलेका डिन हेन्डरसन, मार्क गुएही, एजरी कोन्सा, कोबी म्यानो, एबेरेची एजे, एन्थोनी गार्डन, ओली वाटकिन्स र इवान टोनी र रिस जेम्स भने पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छन्। नौ खेलाडीले भने पहिलो पटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। जेम्स ट्राफोर्ड, टिनो लिवरामेन्टो, निको ओरेली, जेड स्पेन्स, डान बर्न, जेरेल क्वान्सा, इलियट एन्डरसन, नोनी माडुएके र मोर्गन रोजर्सले पहिलोपटक
टोली घोषणासँगै इङ्ल्यान्डले प्रशिक्षणलाई पनि तीव्र बनाउने जनाएको छ। इङ्ल्यान्डले आगामी जुन १ तारिखमा अमेरिकाको फ्लोरिडाको पाम बिचस्थित विशेष प्रशिक्षण शिविरमा सहभागी हुन सबै खेलाडीलाई निर्देशन दिइसकेको छ। आर्सनल र क्रिस्टल प्यालेसमा आवद्ध खेलाडी भने केही समयपछि जोडिने भएका छन्। युरोपियन क्लब च्याम्पियनसिपमा सहभागी आर्सनल र क्रिस्टल प्यालेसका खेलाडीलाई पछि टोलीमा सामेल हुन निर्देशन दिएको हो। करिब दुई साता फ्लोरिडामा तयारी गरेपछि इङ्ल्यान्डको टोली जुन १३ मा कंसास सिटीस्थित प्रतियोगिता स्थलमा पुग्नेछ।
बहुप्रतिक्षित विश्वकपका लागि टोली चयन गर्नु रोमाञ्चक र ठूलो सौभाग्य भएको प्रशिक्षक टुचेलले बताएका छन्। ‘विश्वकपजस्तो प्रतियोगितामा इङ्ल्यान्डको टिम चयन गर्नु बास्तबवमै रोमाञ्चक र ठूलो सौभाग्य हो’, प्रशिक्षक टुचेल भन्छन्, ‘नाम चयन गर्नु निकै कठिन प्रक्रिया हो। तर, मलाई आफ्ना खेलाडीप्रति पूरा विश्वास छ।
सबैले उत्कृष्ट प्रदर्शन गर्ने मैले आशा गरेको छु। यस विश्वकपलाई इङ्ल्यान्डले यादगार बनाउने छ।’ इङ्ल्यान्डले विश्वकपको तयारीका लागि ६ जुनमा न्युजिल्यान्ड र १० जुनमा कोस्टारिकासँग मैत्रीपूर्ण खेल खेल्नेछ। इङ्ल्यान्ड विश्वकपको समूह ‘एल’मा छ। यस समूहमा इङ्ल्यान्डसँगै क्रोएसिया, घाना र पानमा छन्। इङ्ल्यान्डले जुन १७ मा न्युजिल्यान्ड, जुन २३ मा घाना र जुन २७ मा पानमासँग समूह चरणको खेल खेल्नेछ। आगामी जुलाई १९ तारिखसम्म सञ्चालन हुने विश्वकप यसपटक अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। यस पटक विश्वकपमा ४८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिक्रिया दिनुहोस !