बदलिँदो नेपाली समाजमा यौनिकता

बदलिँदो नेपाली समाजमा यौनिकता

नेपाल आज केवल आर्थिक वा राजनीतिक परिवर्तनको चरणमा मात्र छैन, यो गहिरो सामाजिक तथा जनसांख्यिकीय रूपान्तरणको प्रक्रियाबाट पनि गुज्रिरहेको छ। केही दशकअघिसम्म नेपाली समाजको मुख्य विशेषता ठूलो परिवार, उच्च जन्मदर, प्रारम्भिक विवाह, पितृसत्तात्मक पारिवारिक संरचना तथा परम्परागत सामाजिक मूल्यहरू थिए। परिवारलाई केवल सामाजिक संस्थामात्र होइन, आर्थिक सुरक्षा, श्रमशक्ति तथा सामाजिक प्रतिष्ठाको आधारका रूपमा पनि बुझिन्थ्यो। धेरै सन्तान हुनु समृद्धि, शक्ति तथा सामाजिक सम्मानको प्रतीक मानिन्थ्यो।

विशेषगरी छोरा जन्मलाई वंश निरन्तरता, धार्मिक उत्तरदायित्व तथा बुढेसकालको सहारासँग जोडेर हेर्ने सोच समाजमा गहिरो रूपमा स्थापित थियो। तर पछिल्ला दुई दशकमा नेपाली समाजमा तीव्र परिवर्तन देखिएको छ। शिक्षा, सहरीकरण, महिलाको बढ्दो सहभागिता, वैदेशिक रोजगार, डिजिटल प्रविधि, सामाजिक सञ्जाल तथा विश्वव्यापी सांस्कृतिक प्रभावका कारण मानिसको जीवनशैली, सम्बन्ध, विवाह प्रणाली तथा प्रजनन व्यवहारमा उल्लेखनीय परिवर्तन आएको छ। अहिले विशेषगरी सहरी क्षेत्रमा ‘ढिलो विवाह’, ‘एक सन्तान’ वा ‘सन्तान नजन्माउने’ सोचसमेत विस्तार हुँदै गएको छ।

यौनिकता, शक्ति र सामाजिक संरचना :  यस परिवर्तनलाई केवल व्यक्तिगत छनोट वा आधुनिकताको प्रभाव भनेर मात्र बुझ्न सकिँदैन। यसको पछाडि यौनिकता, शक्ति, सामाजिक नियन्त्रण, आर्थिक अवस्था, लैंगिक सम्बन्ध तथा जनसांख्यिकीय संक्रमणजस्ता गहिरा संरचनागत विषयहरू जोडिएका छन्। यही कारणले आज यौनिकता र शक्तिको अध्ययन समाजशास्त्रमात्र नभई जनसाख्यिकी, सार्वजनिक स्वास्थ्य, विकास अध्ययन तथा लैंगिक अध्ययनको केन्द्रीय विषय बन्दै गएको छ।

यौनिकतालाई नेपाली समाजमा अझै पनि धेरैजसो अवस्थामा केवल यौन सम्बन्ध वा जैविक आवश्यकतासँग जोडेर बुझ्ने गरिन्छ। तर आधुनिक समाजशास्त्रीय तथा जनसांख्यिकीय दृष्टिकोणले यौनिकतालाई निकै व्यापक अर्थमा व्याख्या गर्दछ। यौनिकता भन्नाले व्यक्तिको यौन पहिचान, आकर्षण, सम्बन्ध, लैंगिक भूमिका, प्रजनन व्यवहार, वैवाहिक जीवन, सामाजिक अपेक्षा तथा शरीरमाथिको अधिकारलाई समेट्ने सामाजिक प्रक्रिया बुझिन्छ। मानिसले कसरी सम्बन्ध निर्माण गर्छ, कहिले विवाह गर्छ, कति सन्तान जन्माउँछ, परिवार नियोजन प्रयोग गर्छ वा गर्दैन भन्ने निर्णयहरू पनि यौनिकता र सामाजिक संरचनासँग जोडिएका हुन्छन्।

यस सन्दर्भमा फ्रान्सेली दार्शनिक मिसेल फुकोको अवधारणा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। फुकोका अनुसार शक्ति केवल राज्य, सेना वा राजनीतिक संरचनामा मात्र सीमित हुँदैन, यो समाजका सूक्ष्म तहहरूमा पनि फैलिएको हुन्छ। परिवार, विद्यालय, धर्म, स्वास्थ्य संस्था तथा सामाजिक व्यवहारभित्र शक्ति सक्रिय रूपमा कार्य गरिरहेको हुन्छ। विशेषगरी समाजले मानिसको शरीर, यौन व्यवहार तथा इच्छामाथि नियन्त्रण गरेर सामाजिक अनुशासन कायम गर्दछ।

नेपाली समाजमा यसको स्पष्ट उदाहरण महिलाको यौनिकतामाथिको नियन्त्रण हो। आज पनि महिलाको पहिरन, हिँडडुल, साथी सम्बन्ध, विवाह, मातृत्व तथा व्यवहारलाई ‘परिवारको इज्जत’सँग जोडेर हेर्ने प्रवृत्ति बलियो छ। महिलाले कति स्वतन्त्रता पाउने, कहिले विवाह गर्ने, कसरी व्यवहार गर्ने वा कति सन्तान जन्माउने भन्ने विषयमा परिवार र समाजको प्रत्यक्ष प्रभाव देखिन्छ। अर्कोतर्फ, पुरुषको व्यवहारप्रति तुलनात्मक रूपमा बढी सहनशील दृष्टिकोण राखिन्छ। यसले समाजमा शक्ति सम्बन्ध कसरी लैंगिक रूपमा विभाजित 
छ भन्ने देखाउँछ।

सिमोन दे ब्युवोइरले महिलालाई ‘दोस्रो लिंग’का रूपमा व्याख्या गर्दै पितृसत्तात्मक समाजले महिलाको शरीर र प्रजनन क्षमतालाई नियन्त्रण गर्ने तर्क प्रस्तुत गरेकी छन्। नेपाली समाजमा अझै पनि महिलाको सामाजिक मूल्यांकन विवाह, मातृत्व तथा परिवारप्रतिको भूमिकासँग जोडेर गरिन्छ। यही कारणले महिलाको यौनिक स्वतन्त्रतालाई सीमित गर्ने सामाजिक संरचना अझै बलियो देखिन्छ।

जनसांख्यिकीय दृष्टिकोण र सामाजिक परिवर्तन :  यौनिकता र शक्तिको सम्बन्धलाई जनसांख्यिकीय दृष्टिकोणबाट हेर्दा अझ स्पष्ट बुझ्न सकिन्छ। जनसांख्यिकीले जन्मदर, मृत्युदर, विवाह, बसाइँसराइ, परिवार संरचना तथा जनसंख्या परिवर्तनको अध्ययन गर्दछ। मानिसले कहिले विवाह गर्ने, कति सन्तान जन्माउने वा परिवार नियोजन प्रयोग गर्ने भन्ने निर्णयहरू केवल जैविक विषय होइनन्। ती सामाजिक शक्ति संरचना, आर्थिक अवस्था तथा सांस्कृतिक मान्यताबाट प्रभावित हुन्छन्।

नेपाल अहिले जनसांख्यिकीय संक्रमणको महत्त्वपूर्ण चरणमा रहेको छ। राष्ट्रिय जनगणना २०२१ अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा झरेको छ भने कुल प्रजननदर १.८५ मा पुगेको छ, जुन प्रतिस्थापन स्तरभन्दा तल हो। यसको अर्थ अब प्रत्येक पुस्ताले आफूलाई प्रतिस्थापन गर्न पुग्नेमात्र सन्तान जन्माइरहेको अवस्था पनि क्रमश:  कमजोर हुँदै गएको संकेत हो।

सानो परिवार र सहरी प्रवृत्ति :  यो परिवर्तन नेपाली समाजमा आएको सामाजिक तथा आर्थिक रूपान्तरणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। पहिले धेरै सन्तानलाई आर्थिक शक्ति तथा श्रमशक्तिको स्रोतका रूपमा हेरिन्थ्यो। कृषि आधारित समाजमा धेरै सन्तान हुनु परिवारका लागि उपयोगी मानिन्थ्यो। तर अहिले सहरीकरण, शिक्षा, रोजगारीको प्रतिस्पर्धा तथा महँगो जीवनशैलीका कारण सन्तानको संख्या घट्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा ‘एक सन्तान पर्याप्त’ भन्ने सोच विस्तार हुँदै गएको छ।

यस प्रवृत्तिलाई केवल आधुनिक जीवनशैलीको प्रभाव भनेर मात्र बुझ्न सकिँदैन। यसको पछाडि गहिरो आर्थिक तथा सामाजिक शक्ति सम्बन्ध जोडिएका छन्। अहिलेका युवा दम्पतीहरू शिक्षा, करियर, व्यक्तिगत स्वतन्त्रता तथा आर्थिक स्थायित्वलाई प्राथमिकता दिन थालेका छन्। महिलाहरू शिक्षित तथा आर्थिक रूपमा सक्रिय बन्दै जाँदा प्रजननसम्बन्धी निर्णयमा उनीहरूको भूमिका पनि बढ्दै गएको छ। यही कारणले विवाह ढिलो गर्ने वा विवाह नै नगर्ने, कम सन्तान जन्माउने वा सन्तान नजन्माउने सोचसमेत विस्तार भइरहेको छ।

ब्रिटिस समाजशास्त्री एन्थनी गिन्डेसले आधुनिक समाजमा सम्बन्धहरू ‘शुद्ध सम्बन्ध’मा आधारित हुँदै गएको बताएका छन्। अर्थात् सम्बन्धहरू अब केवल सामाजिक दायित्व वा परम्पराका आधारमा होइन, व्यक्तिगत सन्तुष्टि, समझदारी तथा भावनात्मक आवश्यकतामा आधारित हुन थालेका छन्। नेपाली सहरी समाजमा अहिले यही परिवर्तन क्रमश:  देखिन थालेको छ।

जन्मदर, वृद्धजनसंख्या र भविष्यको चुनौती :  तर जन्मदर घट्नु केवल सकारात्मक संकेतमात्र होइन। यसले भविष्यमा गम्भीर सामाजिक चुनौती पनि सिर्जना गर्न सक्छ। अहिले नेपाल जनसांख्यिकीय लाभांश अर्थात् कार्यशील उमेर समूह बढी भएको अवस्थाबाट गुज्रिरहेको छ। यदि यही युवाशक्तिलाई शिक्षा, सीप तथा रोजगारीमा रूपान्तरण गर्न सकियो भने नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्छ। तर जनसांख्यिकीय लाभांश हुँदाहुँदै जन्मदर निरन्तर घट्दै जाँदा भविष्यमा वृद्धजनसंख्या तीव्र रूपमा बढ्ने सम्भावना पनि बढिरहेको छ।

नेपालमा अहिले औसत आयु बढिरहेको छ। स्वास्थ्य सेवा, पोषण तथा चेतनामा सुधार आएकाले मानिसहरू लामो समय बाँच्न थालेका छन्। तर परिवार संरचनामा आएको परिवर्तन, वैदेशिक रोजगार तथा सानो परिवारको अवधारणाले वृद्ध व्यक्तिहरूको सामाजिक सुरक्षा कमजोर बनाउँदै लगेको छ। पहिले संयुक्त परिवारमा वृद्धहरूको हेरचाह परिवारभित्रै सम्भव हुन्थ्यो। अहिले युवा पुस्ता विदेश वा शहरतर्फ केन्द्रित हुँदा गाउँमा वृद्धहरू एक्लोपन तथा सामाजिक असुरक्षाको अवस्थामा बाँच्न बाध्य भइरहेका छन्।

यसले स्पष्ट रूपमा देखाउँछ कि यौनिकता, परिवार संरचना तथा प्रजनन व्यवहारमा आएको परिवर्तनले प्रत्यक्ष रूपमा जनसांख्यिकीय संरचना परिवर्तन गरिरहेको छ। नेपालमा वैदेशिक रोजगारले पनि यौनिकता र पारिवारिक संरचनामा गहिरो प्रभाव पारेको छ। ठूलो संख्यामा युवाहरू विदेश पलायन हुँदा विवाह ढिलो हुने, दाम्पत्य सम्बन्धमा दूरी बढ्ने तथा पारिवारिक संरचना कमजोर हुने अवस्था बढिरहेको छ। अर्कोतर्फ सामाजिक सञ्जाल तथा डिजिटल संस्कृतिले सम्बन्ध, प्रेम तथा यौनिकताको परम्परागत अवधारणालाई पनि परिवर्तन गरिरहेको छ।

विद्यालयदेखि विश्वविद्यालयसम्म यौनिकता अध्ययनको आवश्यकता :  यही कारणले आज नेपालमा विद्यालयदेखि विश्वविद्यालय तहसम्म यौनिकता अध्ययनलाई वैज्ञानिक र व्यावहारिक रूपमा समावेश गर्नुपर्ने आवश्यकता तीव्र रूपमा महसुस गरिएको छ। अहिले पनि धेरै युवाहरू यौन स्वास्थ्य, सहमति, मानसिक स्वास्थ्य, लैंगिक समानता तथा सुरक्षित व्यवहारबारे वैज्ञानिक जानकारीभन्दा अफवाह र अनौपचारिक स्रोतमा निर्भर छन्। यसले किशोर गर्भधारण, यौन हिंसा, साइबर उत्पीडन, मानसिक तनाव तथा असुरक्षित व्यवहारका समस्या बढाउन सक्छ।

विद्यालय तहमा किशोरावस्था, शरीरमा आउने परिवर्तन, महिनावारी स्वास्थ्य, लैंगिक समानता तथा सुरक्षित व्यवहारका विषय समावेश गरिनुपर्छ। विश्वविद्यालय तहमा भने यौनिकतालाई समाजशास्त्र, जनसांख्यिकी, सार्वजनिक स्वास्थ्य, मनोविज्ञान तथा लैंगिक अध्ययनसँग जोडेर गहिरो रूपमा अध्ययन गर्न आवश्यक छ। विशेषगरी जनसंख्या अध्ययनका विद्यार्थीले यौनिकता, शक्ति, प्रजनन व्यवहार, वृद्धजनसंख्या, बसाइँसराइ तथा परिवार संरचनाको परिवर्तनलाई अन्तरविषयगत दृष्टिकोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।

आजको नेपाली समाजमा यौनिकता र शक्ति केवल व्यक्तिगत नैतिकताको विषय रहेन। यो जनसंख्या संरचना, आर्थिक विकास, श्रमशक्ति, लैंगिक समानता, मानसिक स्वास्थ्य तथा सामाजिक स्थायित्वसँग प्रत्यक्ष सम्बन्धित विषय बनिसकेको छ। जन्मदर घट्नु, एक सन्तानको प्रवृत्ति बढ्नु, वृद्धजनसंख्या वृद्धि हुनु तथा परिवार संरचनामा आएको परिवर्तनले नेपाललाई नयाँ सामाजिक यथार्थतर्फ डो¥याइरहेको छ।

त्यसैले अब यौनिकतालाई केवल लाज वा गोपनीयताको विषयका रूपमा होइन, सामाजिक विकास, मानवअधिकार तथा जनसांख्यिकीय व्यवस्थापनसँग जोडिएको वैज्ञानिक विषयका रूपमा बुझ्न आवश्यक छ। समावेशी, वैज्ञानिक तथा मानवअधिकारमा आधारित दृष्टिकोणबाट मात्र नेपालले बदलिँदो जनसांख्यिकीय चुनौती र अवसरलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सक्नेछ।
अधिकारी, त्रिविका उपप्राध्यापक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.