इरानसँग नेपाल सोझो सेटमा पराजित, तेस्रो स्थानका लागि भारतसँग खेल्ने
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। इरानसँग पराजित हुँदा नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्ने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा इरानले नेपाललाई २५-२०,२५-१५ र २५- ११ ले पराजित गरेको हो। पहिलो सेटमा ६-४ को अग्रता लिएको नेपालले सेटको बीचमा आएपछि अग्रता घटाउँदै १०-९ सम्म नेपालले अग्रता बनाएको थियो। त्यसपछि भने लगातार इरानले अंक जोड्यो। बीचमा १३-११ को स्थितिमा इरानले अग्रता बनायो। त्यसपछि भने नेपालले इरानको बलियो डिफेन्स र ब्लकमा अंक बनाउन संघर्ष गर्यो।
दोस्रो सेटको अग्रताबाट नै इरानले ५-२ को अग्रता सहित सुरुवात गर्यो। ७-७ मा नेपालले इरानलाई भेटायो। ८-८ बराबरीबाट इरानले लगातार अग्रता बनाउँदै १९-१३ हुँदै २५- १५ ले नेपाललाई पछि छोड्यो। तेस्रो सेटमा इरानले नेपाललाई ३-० सहितको सुरुवात गर्यो। ७-१ हुँदै १७-७ हुँदै एकतर्फी रूपमा २५- ११ ले सेटमा जित सहित ३-० का रूपमा खेलमा जित दर्ता गर्यो।
यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गर्दै काजकिस्तान फाइनल पुगिसकेको छ। भारत काजकिस्तानसँग ३-० को सोझो सेटमा पराजित हुँदै तेस्रो स्थानको लागि नेपालसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !