हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ
काठमाडौं : हिमालयन बैंक लिमिटेडले यूनियन पे आरएमवि कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो।
सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्युआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोवारको चिनियाँ मुद्रा सीएनवाई मा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ।
व्यक्तिगत तथा संस्थागत भ्रमण गर्नुहुने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम युनियनपे आरएमबी कार्डमा लोड गरी युनियनपेको सञ्जालसँग आवद्ध अलिपे+, वीच्याट पे, निहाओ चाइनाजस्ता क्युआर एवं अन्य माध्यम मार्फत समेत सीवाईएनमा नै भुक्तानी गर्न सक्ने छ।
नक्साल, काठमाडौं स्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा युनियन पे इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्डसेवाको शुभारम्भ गरिन्।
प्रतिक्रिया दिनुहोस !