भाजपाको निमन्त्रणामा रवि लामिछाने सोमबार भारत भ्रमणमा जाँदै
काठमाडौं : भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबारदेखि भारत भ्रमणमा जाने भएको छ।
भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार जारी गरेको विज्ञप्तिअनुसार लामिछाने नेतृत्वको रास्वपाको टोली जुन १ (सोमबार) देखि भारत भ्रमणमा जान लागेको हो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिनलगायत पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाले जनाएको छ।
विज्ञप्तिमा रास्वपा र भाजपाबीच पार्टीगत सम्बन्ध तथा संवादको सुरुआत गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको उल्लेख छ। संगठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनकेन्द्रित राजनीतिक पहुँचका विषयमा दुवै पक्षबीच विचार आदानप्रदान हुने भाजपाले जनाएको छ।
भाजपाले रास्वपाको प्रतिनिधिमण्डललाई स्वागत गर्दै भ्रमणले दुई दलबीच रचनात्मक संवाद र सहकार्यको आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !