अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
काठमाडौं : संयुक्त राज्य अमेरिकाको सार्वजनिक कूटनीति तथा जनसम्पर्कसम्बन्धी उपविदेशमन्त्री साराह बी रोर्जस तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी छिन्।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च तहको अमेरिकी अधिकारी हुन्। उनको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्ध, आर्थिक कूटनीति, लगानी प्रवद्र्धन तथा क्षेत्रीय शक्ति सन्तुलनको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
उपविदेशमन्त्री रोजर्सको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, जनस्तरको सम्पर्क विस्तार, सूचना तथा सञ्चार प्रविधिमा सहकार्य, लगानी वातावरण सुधार तथा लोकतान्त्रिक मूल्यहरूको प्रवर्धनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
रोजर्सको भ्रमणको मुख्य आकर्षण भनेको अमेरिकी दूतावासद्वारा आयोजित एसेन्ट समिट २०२६ मा सहभागिता जनाउनु हो। उक्त कार्यक्रम अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सफलतापूर्वक सगरमाथा आरोहण गरेको उपलब्धिको सम्मानमा आयोजना गरिएको हो।
पर्वतीय पर्यटन, साहसिक पर्यटन, जलवायु परिवर्तन, हिमाली अर्थतन्त्र तथा नेपाललाई विश्व पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने विषयमा समिटमा छलफल भएको थियो। कार्यक्रममा रोजर्सले भनिन्, ‘नेपाल र अमेरिकाबीच रहेको बलियो तथा दीर्घकालीन साझेदारीसँगै साहसिक पर्यटन, उद्यमशीलता, नवप्रवर्तन र जनस्तरको सम्बन्धले द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याइरहेको छ।’ उनले अगाडि भनिन्, ‘यस्ता सम्बन्धहरूले नेपालमा अमेरिकी कम्पनीहरूको संलग्नता बढाउनुका साथै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका अवसर विस्तार गर्न सहयोग पुर् याउनेछ। हिमालयमा सुरक्षित, दिगो र जिम्मेवार पर्यटन विकासका लागि आधुनिक प्रविधि, सुरक्षा मापदण्ड, उद्धार क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उनले वातावरण संरक्षणलाई समेत भविष्यको प्रमुख प्राथमिकतामा छ।’
विश्वको सर्वोच्च शिखर सगरमाथा र हिमालयलाई केन्द्रमा राखेर नेपालले साहसिक पर्यटनको अन्तर्राष्ट्रिय हबका रूपमा आफूलाई स्थापित गरिरहेको बेला उच्चस्तरीय अमेरिकी अधिकारीको सहभागिता र धारणाले पर्यटन, प्रविधि, लगानी र जनस्तरीय सम्बन्धमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपालको पर्वतारोहण विरासत र अमेरिकी नवप्रवर्तनले कसरी पर्वतारोहणलाई अझ सुरक्षित, व्यवस्थित र दिगो बनाउन सक्छ भन्ने विषयमा गहन छलफल भएको थियो। समिटमा प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, प्रख्यात अमेरिकी पर्वतारोही कनराड एन्कर, पर्वतारोहण अभियन्ता, नवप्रवर्तक, उद्धारकर्मी, पर्वतारोहण सामग्री व्यवसायी, पत्रकार तथा पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूको उल्लेख्य सहभागिता थियो। नेपाल पर्यटन बोर्ड, अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सको साझेदारीमा आयोजित एसेन्ट समिट २०२६ ले सगरमाथा तथा पर्वतीय पर्यटनको भविष्यबारे घनिभूत छलफल गरेको छ। कार्यक्रममा वक्ताहरूले नेपालको पर्वतारोहण विरासत र अमेरिकी नवप्रवर्तनले कसरी पर्वतारोहणलाई अझ सुरक्षित, व्यवस्थित र दिगो बनाउन सक्छ भन्नेमा जोड दिएका थिए।
नेपालमा नयाँ सरकार गठन भएयता लगातार अमेरिकी उच्च अधिकारीहरूको भ्रमण भइरहेको छ। यसअघि अमेरिकी सहायक विदेशमन्त्री समिरपल कपुर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिगो गोरले पनि नेपाल भ्रमण गरेका थिए। पछिल्ला भ्रमणहरूले नेपालप्रति अमेरिकी चासो बढ्दै गएको संकेत गरेको कूटनीतिक वृत्तको विश्लेषण छ।
रोजर्सको भ्रमण केवल औपचारिक कूटनीतिक कार्यक्रम मात्र नभई नेपालमा लगानी, व्यापार, डिजिटल पूर्वाधार, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने अमेरिकी रणनीतिक प्रयासको निरन्तरता भएको सन्देश दिइएको छ।
प्रतिक्रिया दिनुहोस !