संघीय संसदका दुबै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?
काठमाडौं : संघीय संसदको दुबै सदनको बैठक आज पनि बस्दैछ । दुबै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ ।
बैठकको सुरुमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यतालिका छ । त्यस्तै बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ । तर, आजको बैठक पनि सहज ढंगले सञ्चालन हुने सम्भावना कम छ । गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सबै विपक्षी दलले प्रतिनिधिसभा सञ्चालनमा अवरोध गर्दै आएका छन् ।
यस्तै आज नै राष्ट्रियसभाको पनि बैठक बस्दै छ ।राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल सुरु गर्ने कार्यसूची छ ।


प्रतिक्रिया दिनुहोस !