दिल्लीमा एक किशोरको घेरा हालेर छुरा हानी हत्या, एक बालक गोली लागेर घाइते
भारत : उत्तर–पूर्वी दिल्लीको न्यू उस्मानपुर क्षेत्र पछिल्लो समय अपराधको ‘हटस्पट’ बन्दै गएको छ । निर्भीक अपराधीहरूले लगातार जघन्य घटनाहरू गरिरहेका छन् । सोमबार एउटै क्षेत्रमा १७ वर्षीय एक किशोरको हत्या गरिएको छ भने गोलीकाण्डमा एक १२ वर्षीय बालक घाइते भएका छन् । न्यू उस्मानपुर थाना क्षेत्रभित्र सोमबार राति अज्ञात व्यक्तिहरूले छुरा प्रहार गरी १७ वर्षीय किशोर अभिषेकको हत्या गरेका छन् ।
प्रहरीका अनुसार राति करिब १०ः३० बजे घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यहाँ १७ वर्षीय किशोर भुइँमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरेको छ । यसअघि सोही दिन साँझ यही क्षेत्रमा भएको गोलीकाण्डमा एक १२ वर्षीय बालक घाइते भएका थिए । प्रहरी अधिकारीका अनुसार फरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रमाणहरू संकलन गरेको छ । न्यू उस्मानपुर थानामा भारतीय न्याय संहिताको धारा १०३ (१) (हत्या) अन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित महत्वपूर्ण सुराक प्राप्त भएको र दोषीहरूलाई पक्राउ गर्न विभिन्न टोली परिचालन गरिएको जनाएको छ । राहुल अल्वालले यस घटनामा न्याय संहिताको धारा १०३ (१) अन्तर्गत मुद्दा दर्ता गरिएको र थप अनुसन्धान जारी रहेको बताएका छन् ।
घर बाहिर भएको गोलीकाण्डमा १२ वर्षीय बालक घाइते
यसअघि सोमबार साँझ न्यू उस्मानपुर क्षेत्रमा तीन जनाले अन्धाधुन्ध गोली चलाउँदा बाटो हुँदै गइरहेका १२ वर्षीय बालकको खुट्टामा गोली लागेको थियो । प्रहरीका अनुसार चौथा पुश्ता क्षेत्रमा ४३ वर्षीय धर्मेन्द्रको घर अगाडि तीन जनाले गोलीबारी गरेका थिए । सो क्रममा त्यहाँबाट गुज्रिरहेका १२ वर्षीय बालक घाइते भएका हुन् । उनको उपचार जेपीसी अस्पतालमा भइरहेको छ ।
फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ । यस घटनामा पनि कानुनअनुसार मुद्दा दर्ता गरिएको छ । तत्काल कारबाही गर्दै प्रहरीले दुई आरोपी—प्रांकुर (२९) र हर्ष (२२) लाई पक्राउ गरेको छ । उनीहरूबाट एक देशी कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । फरार तेस्रो आरोपीको खोजी जारी छ ।
सूर्याको बकर इदकै दिन भएको थियो हत्या
यसअघि दिल्लीसँग जोडिएको गाजिदाबादको खोडा क्षेत्रस्थित नवनीत विहारमा मे २८ मा बकर इदका दिन कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सूर्या चौहानको पनि छुरा प्रहार गरी हत्या गरिएको थियो । घटनाका मुख्य आरोपी असदलाई गाजिदाबाद प्रहरीले दुई दिनअघि भएको प्रहरी मुठभेड (इन्काउन्टर) मा मारिएको जनाएको छ । साथै अन्य केही व्यक्तिलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !