स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा विश्व वातावरण दिवसमा वृक्षारोपण अभियान
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ।
उक्त कार्यक्रममा करिब ३५० जना कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा फलफूल दिने, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ। यस अभियानको उद्देश्य स्थानीय हरियाली अभिवृद्धि गर्नु, जैविक विविधता संरक्षणमा टेवा पुर्याउनु तथा दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान गर्नु रहेको छ।
कार्यक्रमको सुरुवात गोरख राणा (सीईओ तथा हेड अफ कभरेज, एससीबीएनएल) र केदार बस्नेत (अध्यक्ष, आदिनाथ सामुदायिक वन उपभोक्ता समूह)ले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए। यस अवसरमा राणाले हरित भविष्यका लागि स्वयंसेवामा सक्रिय रूपमा सहभागी भएकोमा कर्मचारीहरूलाई धन्यवाद दिँदै भने, 'यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ।
हामी गर्वका साथ भन्न सक्छौँ कि यी वर्षहरूमा एससीबीएनएलका कर्मचारीहरूले ललितपुर जिल्लामा, कीर्तिपुर क्षेत्रसमेत समेट्दै, करिब ४० हजार बिरुवा रोप्न सहयोग गरेका छन्। आजको प्रयासले मात्र नभई दीर्घकालीन प्रभावमा समेत योगदान पुर्याउँदै आएको छ, जुन प्रत्येक वर्षसँगै बढ्दै गएको छ। प्रत्येक रूख केवल हरियाली मात्र होइन यो आशा, जिम्मेवारी र भविष्यका पुस्ताप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो।'
वार्षिक रूपमा आयोजना हुने यस वृक्षारोपण कार्यक्रमले बैंकको भविष्यका पुस्तामा लगानी गर्ने प्रतिबद्धता तथा वातावरण संरक्षणप्रतिको संस्कारलाई थप सुदृढ बनाएको छ।
प्रतिक्रिया दिनुहोस !