परराष्ट्रमन्त्री खनाल आइतबार बेइजिङ जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते बेइजिङ जाँदैछन् ।
बेइजिङ बसाइका क्रममा समकक्षी वाङ यीलगायत चिनिया अधिकारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुने र चिनियाँ व्यवसायीहरुसँग अन्तरक्रिया समेत गर्नेछन् । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हो । रास्वपाको सरकार बनेपछि चीन आफ्ना परियोजनाहरु कसरी अगाडि बढ्छ भनेर सशंकित भइरहेका बेला परराष्ट्रमन्त्री खनालको यो भ्रमण हुन लागेको हो । चिनियाँ महत्वकांक्षी परियोजना बीआरआइ कार्यान्वयनको फ्रेमवर्कमा हस्ताक्षर भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा गत बर्ष बेइजिङमा दुई मुलुकबीच बीआरआइ कार्यान्वयन गर्न त्यसको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । चीन बीआरआइ कार्यान्वयन होस् भन्ने पक्षमा छ तर, भूराजनीतिक जटिलताका कारण लामो समयदेखि बीआरआइ परियोजना कार्यान्वयन भएको छैन ।
प्रतिक्रिया दिनुहोस !