मध्यपूर्व द्वन्द्व

इरानसँगको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

इरानको आशंका

इरानसँगको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आइतबार (आज) सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। यद्यपि, इरानले भने सम्झौताको समय सीमाप्रति आशंका व्यक्त गरेको छ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले सम्झौता सम्पन्न हुनासाथ विश्वकै प्रमुख व्यापारिक जलमार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला गरिने दाबी गरेका छन्। यस संकटमा मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौतालाई अन्तिम रूप दिइने र आफूहरू इलेक्ट्रोनिक हस्ताक्षर को तयारीमा जुटेको जनाएको छ।

ट्रम्पको यस्तो भनाइ आउनुअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने सम्झौताको समय सीमालाई लिएर सतर्कता अपनाएका थिए। उनले भनेका थिए, 'समझदारी पत्रमा हस्ताक्षर हुने निश्चित मितिका लागि हामीले पर्ख र हेरको रणनीति अपनाउनुपर्ने हुन्छ, यद्यपि यो (आइतबार) भने हुने छैन।'

तर, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेखेका छन्, 'सम्झौता भोलि नै हस्ताक्षर हुने तालिका छ। हस्ताक्षर हुनासाथ हर्मुज जलमार्ग सबैका लागि खुल्नेछ।'

इरानको संवर्धित युरेनियम भण्डारतर्फ संकेत गर्दै ट्रम्पले थपेका छन्, 'उपयुक्त समयमा, जब सबै कुरा शान्त हुनेछ, हामी भित्र गएर 'आणविक धुलो' (न्यूक्लियर डस्ट) बाहिर ल्याउनेछौँ र पछि त्यसलाई नष्ट गरिनेछ।'

इरानले आणविक हतियार बनाउन खोजेको भन्दै पश्चिमा देशहरूले दशकौँदेखि आरोप लगाउँदै आएका छन्। तर, इरानले भने आफ्नो आणविक कार्यक्रम बिजुली उत्पादन र अनुसन्धान जस्ता शान्तिपूर्ण कार्यका लागि मात्र भएको दाबी गर्दै यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। ट्रम्पले यदि परिस्थिति 'छिटो, सहज र शान्तिपूर्ण रूपमा अघि नबढे' वासिङ्टनसँग अन्तिम विकल्प तयार रहेको र त्यो फेरि कहिल्यै प्रयोग गर्न नपरोस् भन्ने कामना पनि गरेका छन्।

शान्ति सम्झौताको सबैभन्दा नजिक

शनिबार नै पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले 'हामी शान्ति सम्झौताको इतिहासमै सबैभन्दा नजिक पुगेका छौ' भनी उल्लेख गरेका थिए। एक्स (ट्विटर)मा लेख्दै सरिफले भनेका छन्, 'आगामी २४ घण्टाभित्र सहमति फाइनल हुने सम्भावनासँगै पाकिस्तानले डिजिटल हस्ताक्षरको तयारी गरिरहेको छ। त्यसलगत्तै अर्को हप्ता प्राविधिक तहको वार्ता सुरु हुनेछ।'

शुक्रबार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकासँगको सम्झौता नजिक पुगेको बताएका थिए। यो सम्झौताले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई समेत अन्त्य गर्ने उनको भनाइ थियो। इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै अराघचीले सम्झौतामा स्ट्रेट अफ हर्मुज खुला गर्ने र इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नाकाबन्दी हटाउने विषय समेटिएको जानकारी दिएका थिए। यद्यपि, इरानको आणविक कार्यक्रमबारेको वार्ता भने पछि मात्र सुरु हुने उनले स्पष्ट पारेका छन्।

अमेरिकी अधिकारीहरूले सम्झौताका केही विवरणहरू पुष्टि गर्दै इरानले पाउने आर्थिक लाभहरू तेहरानले आफ्नो प्रतिबद्धता कत्तिको पूरा गर्छ भन्ने कुरामा निर्भर रहने बताएका छन्। यसअघि अमेरिकी प्रतिवेदनहरूले लेबनान यस सम्झौताको हिस्सा नहुन सक्ने संकेत गरेका थिए, जबकि इरानले यसका लागि जोड दिँदै आएको थियो। हालैका महिनाहरूमा सम्झौताका विभिन्न प्रारूपहरूको अपेक्षा गरिए पनि अन्तिम चरणमा पुगेर ती असफल हुँदै आएका छन्।

कसरी सुरु भएको थियो युद्ध ?

यो युद्ध गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट सुरु भएको थियो। जवाफमा इरानले इजरायल र खाडीका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेपछि विश्वकै तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानीको मुख्य मार्ग मानिने स्ट्रेट अफ हर्मुज ठप्प भएको थियो।

गत अप्रिलमा युद्धविरामको सहमति भए तापनि अमेरिका र इरानबीच छिटपुट रूपमा आक्रमणहरू जारी रहे। यसै हप्ता मात्रै दुवै पक्षले एक-अर्कामाथि दुई पटक जवाफी हमला गरेका छन्।

-एजेन्सीहरुबाट 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.