विपद्को बहानामा मन्त्रीलाई हेलिकप्टर चढ्न रोक
काठमाडौं : जब–जब प्राकृतिक विपद्का घटना घट्छन्, निरीक्षण र अनुगमनको बहानामा मन्त्रालयका कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्यसँगसँगै विशिष्ट व्यक्ति (भीआईपी) को सुरक्षा व्यवस्था मिलाउन भ्याइनभ्याइ हुन्थ्यो।
भीआईपी घटनास्थलमा जाँदा हेलिकप्टरको लाखौं खर्च हुनुका साथै उनीहरूको व्यवस्थापन र अन्य बन्दोबस्त मिलाउँदा सुरक्षा निकाय तथा स्थानीय सरकारलाई समेत थप बोझ परिरहेको थियो। त्यसैले सुरक्षा निकायका अधिकारीहरू विपद्का बेला भीआईपीको यस्तो सवारी रोक्नुपर्ने तर्क गरिरहेका थिए।
अब भने विपद्का बेला अनुगमनको नाममा हेलिकप्टर चढेर जान नपाइने भएको छ। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक बस्दै विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा कडा निर्देशन दिएका छन्। बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘हामी सधैं विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ।’
- गृहमन्त्री सुधन गुरुङले विपद् प्रभावित क्षेत्रको निरीक्षणका नाममा मन्त्री तथा कर्मचारीले हेलिकप्टर प्रयोग गर्ने पुरानो अभ्यास अन्त्य गर्ने घोषणा गरेका छन्।
- गृहमन्त्रीले आफू स्वयं पनि हेलिकप्टर चढेर राज्यको स्रोत–साधन दुरुपयोग नगर्ने प्रतिबद्घता व्यक्त गरे।
अघिल्ला सरकारहरूका पालामा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीलाई अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिएका छन्। गृहमन्त्री गुरुङले आफू पनि हेलिकप्टर नचढ्ने घोषणा गरे। उनले भने, ‘म आफैं पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन।’ उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले बताए।
देशका उच्च बाढी–पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देश गर्दै गृहमन्त्री गुरुङले भने, ‘सबै निकाय एकीकृत टोली बनेर काम गर्ने हो भने विपद्मा कसैले पनि ज्यान गुमाउनु पर्दैन। विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्।’ उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।
देशका बाढी–पहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिँदै उनले भने, ‘एकीकृत सोचका साथ राहत तथा उद्धारमा संलग्न निकायबिच सहयोग र सहकार्य गरी जनधनको क्षति कम गर्ने गरी काम हुन आवश्यक छ।’
प्रतिक्रिया दिनुहोस !