सात वर्षमा थपिए साढे ७ हजार उद्योग प्रतिष्ठान
परासी : नवलपरासीमा सात वर्षको अवधिमा साढे सात हजार बढी उद्योग तथा व्यवसायिक प्रतिष्ठान थपिएका छन् । गत बैशाखदेखि सुरु भएको गणनाको काम सकिएसँगै जिल्ला आर्थिक गणना कार्यालय परासीले अन्तिम विवरण सार्वजनिक गर्दै सात वर्षको अवधिमा ७ हजार ६३० उद्योग प्रतिष्ठान थपिएको जनाएको हो ।
कार्यालयलये कुल १८ हजार ४५७ व्यवसायिक प्रतिष्ठानहरुको तथ्याङ्क संकलन गर्ने लक्ष्य राखेको थियो । तर गणनाका क्रममा १८ हजार ८३८ वटा उद्योग प्रतिष्ठानको संकलन भई लक्ष्यभन्दा बढी गणना भएको कार्यालयका गणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए । यसअघि २०७५ सालमा भएको गणनामा १ हजार २०८ उद्योग प्रतिष्ठान दर्ता भएका थिए ।
स्थानीय तहअनुसार बर्दघाट नगरपालिकामा सबैभन्दा बढी १ हजार ६५७ नयाँ उद्योग प्रतिष्ठान थपिएका छन् । त्यसपछि रामग्राम नगरपालिकामा १ हजार ५ सय ८७ थपिएका छन् । कूल संख्याका आधारमा भने रामग्राममा ४ हजार ४९ उद्योग प्रतिष्ठान रहेका छन् भने बर्दघाटमा ३ हजार ९५४ उद्योग प्रतिष्ठान पुगेका छन् ।
त्यसैगरी सुनवलमा १ हजार १७७ उद्योग प्रतिष्ठान थपिएका छन् । गाउँपालिकामा सबैभन्दा बढी सुस्तामा १ हजार ५५, सरावलमा ८५६, प्रतापपुरमा ६४९ र पाल्हीनन्दनमा ५६३ नयाँ उद्योग प्रतिष्ठान थपिएको कार्यालयले जनाएको छ । गणनाअन्तर्गत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिएको थियो ।
जसमा दर्ता भए, नभएका ठूला साना, व्यापार-प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क संकलन गरिएको गणना अधिकृत भण्डारीले बताए । तथ्याङ्कमा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण गणनामा समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !