सरकार आफ्नो असफलता लुकाउन, गलत भाष्य सिर्जनामा लाग्यो : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकार आफ्नो असफलता लुकाउन गलत भाष्य सिर्जनामा लागिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारेको बैठकमा बोल्दै कांग्रेस सांसद रानाले वर्तमान सरकार आफ्नो तीन महिनाको असफलता लुकाउन पुराना दलहरुले ३५ वर्षमा के गरे भन्ने खालको भाष्य सिर्जनामा लागिरहेको बताए ।
जेनजी आन्दोलनपछि आएको रास्वपा नेतृत्वको सरकारलाई राम्रो काममा सँधै सहयोग हुने बताउँदै सांसद रानाले सरकारको १०० दिन विकासमा भन्दा विवादमा अल्झिएको आरोप लगाए । उनले आज पनि सुकुम्बासीको विचल्ली देखिइरहेको, मल नपाएर किसानमा हाहाकार भइरहेको, विपदका कारण बाटोहरु हिलाम्य भएको, बालबालिका स्कुल जान एकदमै अप्ठ्यारो भइरहेको बताए ।
उनले तर त्यहि विपदको विवाद तीन महिनादेखि नेतृत्वविहीन बनेर बसिरहेको बताएका छन् । सांसद रानाले रेविज, क्यान्सर र अन्य धेरै रोगका दवाइ नपाएका कारण अस्पतालहरुमा विरामीहरु विचल्लीमा रहेको बताए । सांसद रानाले नेप्सेको अंक ३०० भन्दा तल ओर्लिएको, निजी क्षेत्रहरु सशंकित भएको, बालबालिकाहरु कुपोषणको शिकार बनिरहनु परेको बताएका छन् । उनले रास्वपाको सरकार रहे पनि युवाहरु विदेश जाने क्रम अझै पनि नरोकिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !