सदन मन्त्रीले सांसद थर्काउने थलो होइन : युवराज दुलाल
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद दुलालले संसदमा प्रधानमन्त्री बालेन शाह उपस्थित भएर आफूहरूले उठाएको जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् सर्वोच्च जनप्रतिनिधि थलो भएकाले उपस्थित हुनुपर्ने बताए ।
उनले भने, ‘१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो । अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई आश्वस्त पार्नु पर्छ । यो सदन मन्त्रीले सांसद थर्काउने थलो होइन । संसद् सांसदले सरकारलाई प्रश्न गर्ने र सांसदका प्रश्नको सरकारले जवाफ दिने थलो हो । संसद् सरकारलाई जवाफदेही बनाउने थलो हो ।’ उनले महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी, कालोबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सरकारलाई सुझाए ।
दुलालले थपे, ‘भदौ २३ र २४ को घटनामा मानव अधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइयो। सरकारलाई बनाउन आवश्यक लाग्यो होला बनाइयो । गृहमन्त्रीको सम्पत्ति छानबिन गरियो भनियो । के रहेछ त ? प्रतिवेदन खोइ ? सार्वजनिक हुनु पर्दैन ? संसद्लाई जवाफ चाहिन्छ ।’
प्रतिक्रिया दिनुहोस !