रेलको ठक्करबाट स्कुल भ्यान क्षत–विक्षत, कम्तीमा दुई बालबालिकासहित तीनको मृत्यु

रेलको ठक्करबाट स्कुल भ्यान क्षत–विक्षत, कम्तीमा दुई बालबालिकासहित तीनको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

भारत : भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा अत्यन्तै दुःखद घटना घटेको छ । शुक्रबार बिहान रेलवे क्रसिङ पार गर्ने क्रममा एउटा स्कुल भ्यानलाई यात्रुवाहक रेल (ट्रेन) ले ठक्कर दिँदा भ्यानमा सवार कम्तीमा दुई जना स्कुले बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जना अन्य व्यक्तिको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ । पूर्वी रेलवेका एक अधिकारीले घटनाको पुष्टि गरेका छन् ।

रेलवे अधिकारीका अनुसार दुर्घटना शुक्रबार बिहान करिब ७ बजे भएको हो । हावडा डिभिजनअन्तर्गत पूर्वी रेलवेको ‘कर्ण सुवर्ण’ रेलवे स्टेशन नजिक रहेको लेभल क्रसिङ गेटमा यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार बालबालिका स्कुल जाँदै गर्दा यो भयावह दुर्घटना भएको हो ।
दुर्घटनाको समयमा रेलवे क्रसिङको गेट खुला रहेको बताइएको छ । बालबालिका बोकेको स्कुल भ्यान रेलको पटरी पार गर्न लाग्दा त्यही समयमा तीव्र गतिमा आएको ट्रेनले भ्यानलाई ठक्कर दिएको थियो ।

भयानक भिडियो सार्वजनिक
दुर्घटनामा स्कुल भ्यान पूर्ण रूपमा क्षति भएको छ । घटनास्थलबाट सार्वजनिक भएको भिडियोले दुर्घटना कति भयावह थियो भन्ने देखाएको छ । भिडियोमा भ्यानको अवस्था निकै दर्दनाक देखिन्छ भने रेलवे ट्रयाक नजिक ठूलो संख्यामा स्थानीय मानिसहरूको भीड पनि देख्न सकिन्छ ।

घाइतेको उपचार जारी
घटनाको जानकारी पाएलगत्तै रेलवे प्रहरी, स्थानीय प्रशासन र उद्धार टोली घटनास्थल पुगेका थिए । घाइतेहरूलाई तत्काल नजिकैको अस्पताल लगिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । सबै घाइतेलाई उपचारका लागि मुर्शिदाबाद मेडिकल कलेज लगिएको छ ।

प्रत्यक्षदर्शीहरूले रेलवे क्रसिङका गेटम्यान (गेट बन्द गर्ने कर्मचारी) मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको र त्यसै कारण समयमै गेट बन्द नगरिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार यही लापरवाहीका कारण ठूलो दुर्घटना भएको हो । हाल ड्युटीमा लापरवाही गरेको आरोपमा गेटम्यान र उनका सुपरभाइजरलाई निलम्बन गरिएको छ ।

पूर्वी रेलवेका अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन १० सदस्यीय विशेष टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिएका छन् । दुर्घटनापछि उक्त रुटमा रेल सेवा प्रभावित भएको छ । अधिकारीका अनुसार हावडा डिभिजनअन्तर्गत अजिमगञ्ज–कटवा रेल खण्डमा रेल सञ्चालन प्रभावित भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.