पाकिस्तानकाे एक सैन्य चौकीमा हमला, १२ सैनिकसहित १५ जनाको मृत्यु
काठमाडौं: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित ट्यांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त चौकी 'माझी खेल'मा बिहीबार राति चरमपन्थी समूहले गरेको आक्रमणमा परि १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ।
मृतकमा दुई जना प्रहरी र एक जना वन अधिकारी समेत रहेका छन्। आक्रमणपछि सुरक्षा निकायले गरेको जवाफी कारबाहीमा १२ जना चरमपन्थी पनि मारिएका छन्।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेज पब्लिक रिलेसनका अनुसार, सुरुमा आतंकवादीहरूले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए, जसलाई सुरक्षाबलले असफल पारिदिए। त्यसपछि भागिरहेका चरमपन्थीहरूको पीछा गर्दै कारबाही गर्दा १२ जना आतंकवादी मारिएका हुन्।
आईएसपीआरका अनुसार पहिलो प्रयास असफल भएपछि आतंकवादीहरूले विस्फोटक पदार्थले भरिएको एउटा गाडी चौकीको भित्तामा ठोक्काएका थिए। शक्तिशाली विस्फोटका कारण चौकी पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै १५ जनाको ज्यान गएको हो।
विस्फोटमा माझी खेल चौकी ध्वस्त भएको छ। आक्रमणमा घाइते भएका सुरक्षाकर्मीहरूलाई तत्काल नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ।
घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासनले सम्पूर्ण ट्यांक जिल्लामा दफा १४४ लागू गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। आईएसपीआरले उक्त क्षेत्रमा हाल खोजी तथा सर्च अपरेसन जारी रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !