अवान्तरः नाटक कि सत्य !
![अवान्तरः नाटक कि सत्य !](https://annapurnapost.prixacdn.net/media/albums/576128ae3f7164.74050988_MQjEZN0UeA.jpg)
काठमाडौं: नाटकघरमा दर्शकको घुइँचो छ। नाटक सुरु हुनै लाग्दा शनिबारको साँझ झ्याप्प बत्ती निभ्यो। ढोकातिरबाट कसैले टर्च बाल्छ।
ऊ निर्देशक खोइ भन्दै कराउँछ। दर्शकमाझ त्रास सिर्जना हुन्छ। बाहिर नाटकका निर्देशक र ती हल्ला गर्नेहरूबीच खै के कुरा हुन्छ, तर सबैलाई परिस्थिति जटिल भएको महसुस हुन्छ। निर्देशक राम केएसी नाटक मञ्चन गर्दै गर्ने निर्देशन दिएर तीनै व्यक्तिसँग बाहिरिन्छन्।
त्यो डरलाग्दो परिस्थितिमा सबै दर्शकलाई लाग्छ, 'आज नाटक हेर्न पाइँदैन।' कसैले प्रश्न गरिरहेका थिए, 'अब कसरी नाटक मञ्चन हुन्छ ? ' अर्को आवाज सुनियो, 'ओहो के भा'को, साँच्चै हो की नाटक हो।' क्षणभरमै दर्शकलाई थाहा हुन्छ, त्यो नाटककै अंश हो।
सुन्धारास्थित थिएटर मलमा यतिबेला नाटक 'अवान्तर' मञ्चन भइरहेको छ। नाटकको सुरुवातले नै नेपालको अहिलेको व्यवस्थाप्रति बलियो झटारो हानेको छ। राम्रो काम गर्नेलाई भाँजो हाल्ने प्रवृत्तिलाई नाटकको यो सुरुवाती दृश्यले ऐनामा झैं उतारेको छ।
इतिहासदेखि यही परम्पराको बिँडो थाम्दै आएको नेपाली समाजको यथार्थ नाटकमा पस्किन खोजिएको छ। भीमसेन थापादेखिका चरित्र जोडेर नेपाली नाट्य जगत्को उदाहरण नाटकमा पेस गरिएको छ।
अभिनयबाट दर्शकलाई मनोरञ्जन दिने कलाकारको पर्दा पछाडिको जीवन देख्दा दर्शकलाई नयाँ स्वाद त पक्कै मिल्छ। त्यसभन्दा बढी भ्रष्टाचारको व्यापकताले ढाकिदिएको कर्मठ व्यक्तिहरूमाथिको अन्यायले दर्शकको मन चसक्क घोच्छ।
सुरुवातदेखि नै दृश्यहरूमा नाटक र यथार्थ छुट्याउन गाह्रो भइरहँदा बीचमा पुनः बत्ती निभ्छ। दर्शक फेरि अन्योलमा पर्छन्। दर्शक दीर्घाबाट आवाज आउँछ, 'फेरि के भयो ! नाटक नै हो की साँच्चै बत्ती गाको थाहै भएन। नाटकमा त केही नबुझिने यार।' तर त्यो नाटकको दृश्य नभई साँच्चै बत्ती गएको थियो। त्यो पल पनि नाटककै अंश झैं लाग्यो।
नाटकमा रंगमञ्चको उदाहरणबाट देशका हरेक क्षेत्रका बेथितिमाथि व्यंग्य गरिएको छ। नाटकका लेखक तथा निर्देशक केएसी भन्छन्, 'दुनियाँको कथा वाँच्दावाँच्दै आफ्नै समस्या र पीडालाई प्राथमिकता दिन नसकेका हामी रंगकर्मीहरूका समस्यालाई मूलधारमा उनेर इमानदार पात्रहरूप्रति इतिहासको दृष्टिकोणलाई एक नजर दिने कोसिस गरेको छु।'
इमानदारीको कुनै मूल्य नभएको समाजमा इमानदारहरूको नियतिमाथि चित्रण गरिएको नाटकमा कलाकारको अभिनयले विषयवस्तुमाथि न्याय गरेजस्तो चाहिँ लाग्दैन। संवादका शब्दहरू जति बलिया थिए त्यति बलियो रूपमा कलाकारले प्रस्तुत गर्न सकेका छैनन्।
मंगलबारसम्म मञ्चन हुने नाटकमा जितेन्द्र खड्का 'सिमन', महावीर विश्वकर्मा, केशव रिजाल, कुमार सिम्खडा, एना देउजा, अमृता खनाल, भीष्म जोशी, नेहा पोखरेल, आर के तिमल्सिना, परीक्षित विक्रम राणा, इस्तु कार्की र शंकर भण्डारीले अभिनय गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)