यस्तो छ भिषणको ‘एउटा सत्य’ (भिडियो)
काठमाडौँ: गायक भिषण मुकारुङ र गीतकार अन्जन किरातीको संयुक्त एल्बम ‘एउटा सत्य' लोकापर्ण भएको छ ।
बुधबार अनामनगरको युनियन हाउसमा ‘एउटा सत्य' को बिमोचन भयो । वरिष्ठ संगीतकार गणेश रसिक र गीतकार प्रा.डा कृष्णहरी बराल, कवि डा. नवराज लम्साल, संगीतकार अभाष, गायक राजेशपायल राई, चलचित्र निर्देशक नविन सुव्बाले संयुक्त रुपमा बिमोचन गरे ।
६ गीत समेटिएको एल्बममा गायक मुकारुङको एकल संगीत छ । एल्बमको एउटा गीतमा भने गायिका मेलिना राईको समेत श्वर समेटिएको छ ।
कार्यक्रमका वक्ताले नेपाली संगीतमा एल्बमले एउटा इँटा थपेको बताए । पाँचौ एल्बमका रुपमा एउटा सत्य लिएर आएका मुकारुङले मनै देखि सुनिदिन आग्रह गरे ।
‘हामीले मिहिनेतका ‘एउटा सत्य' लिएर आएका छौँ,' उनले भने, ‘मनै देखि सुन्नुहोस् । तपाईंले खोजेको केही न केही अवश्य पाउँनु हुनेछ ।'
एल्बम बिमोचनमा संगीतकार लक्ष्मण श्रेष्ठ, राजु सिंह, महेश खड्का, तराप्रकाश लिम्बू, गायक मिंङमा शेर्पा, दीपक लिम्बु लगायतको उपस्थिति थियो ।
नेपाली सांगीतिक क्षेत्रमा ०५९ सालदेखि लगातार सक्रिय भिषणले पहिलो एल्बम ‘विश्वासको बन्धन' बाटै चर्चा कमाएका थिए । सोही एल्बममा रहेको ‘अँधेरीमा जुन फुल्दा' बोलको गीतलाई दर्शक श्रोतले मन पराएका थिए ।
भिषणले त्यसपछि ‘सक्सेस', ‘माहोल' र ‘चन्द्रमुखी' एल्बम बजारमा ल्याइसकेका थिए । ‘एउटा सत्य' लोकापर्ण समरोहमा एल्बमको शीर्ष गीत एउटा सत्यको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।