किन पड्किन्छ सिलिन्डर ?

किन पड्किन्छ सिलिन्डर ?

काठमाडौं: ललितपुर उपमहानगरपालिका वडा नं. १९ हौगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदा जेठ ७ गते सुरेश ताम्राकार र ध्रुव ताम्राकारको ज्यान गयो। सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो।
...
काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भारत मोतीहारीका व्यवसायी विकु पण्डितको उपचारका क्रममा बिहीबार ज्यान गयो। उक्त दुर्घटनामा मोतीहारीकै रोहित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, राजेशका डेढ वर्षीय छोरा अनमोल सिंह र मकवानपुरका सुरेन्द्र बलामी घाइते भए।
...
उद्योगी तथा उपभोक्ता स्वयंको लापरबाहीले भएका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्। यसअघि पनि विभिन्न समयमा ग्यास सिलिन्डर पड्केर सर्वसाधारणको ज्यान गएका दर्जनौं घटना छन्। नियमनकारी निकाय र उत्पादनकर्ता उद्योगीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता घटना दोहोरिरहेका छन्। यसमा उपभोक्ताको लापरबाही पनि कारक छ।

समयमा ध्यान पुर्याउन नसक्दा सहरिया भान्छाकोठामा खाना पकाउने एकमात्र विकल्प ग्यास सिलिन्डर यतिखेर'सिलिन्डर बम' मा रूपान्तरित हुँदै गएको छ। सानो असावधानीले कति बेला कसको भान्छाकोठामा सिलिन्डर बम पड्किने हो र कसको ज्यान जाने हो भन्ने विषयमा न उद्योगी जिम्मेवारी लिन चाहन्छन्, न त राज्य नै कडाइका साथ कारबाही गर्न चाहन्छ। यसले गर्दा यस्तो घटना दिनानुदिन बढ्दो क्रममा छ।

यस्ता घटना दोहोरिनुमा जति उद्योगी जिम्मेवार छन्, त्योभन्दा बढी राज्य पनि दोषी देखिएको छ। राज्यले गल्ती गरेको थाहा हुँदाहुँदै पनि उद्योगीमाथि कारबाही गर्न नसक्दा यस्ता घटना दोहोरिरहेका छन्।आम उपभोक्ताप्रति उद्योगी जिम्मेवार छैनन् भनेर स्वयं आपूर्तिमन्त्री गणेशमान पुनलाई पनि जानकारी छ।

आफ्नै आँखाले उद्योगीले सिलिन्डर उत्पादन गर्ने क्रममा गरेको फट्याइँ देखे पनि त्यस्ता उद्योगीमाथि उनले आजसम्म कारबाही गर्न सकेका छैनन्।मन्त्री पुनले फागुन १२ गते गुणस्तरहीन सिलिन्डर उत्पादन गर्ने उद्योगीमाथि कडा कारबाही गर्ने आश्वासन दिए पनि हालसम्म कारबाही भएको छैन।

फागुन १२ गते मन्त्री पुनले प्राविधिक टोलीसहित नौबिसे १ स्थित सिद्धार्थ ग्यास उद्योग, एचपी ग्यास उद्योग र सुगम ग्यास उद्योगको अनुगमन गरेका थिए। अनुगमनका क्रममा मन्त्री पुनले सिद्धार्थ ग्यास उद्योगमा २१ वर्ष पुरानो, कच्याककुचुक परेको र लिक भइरहेको सिलिन्डर फेलापारेका थिए।

अनुगमनमा गएका राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार उद्योगीको दबाबमा उद्योगीलाई उपभोक्ताको ज्यानसँग खेलबाड गर्न राज्यले नै छूट दिएको छ। उनले भने,'अनुगमनका क्रममा उद्योगीले सिलिन्डर बम उत्पादन गरेको मन्त्रीले आफ्नै आँखाले देख्दा पनि कारबाही प्रक्रिया अघि बढाउन सकेनन् जसका कारण अनाहकमा निर्दोष जनता हताहत हुनुपरेको छ।'

महर्जनका अनुसार अनुगमनका क्रममा अधिकांश उद्योगीले सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण नगर्ने गरेको भेटिएको थियो। उद्योगीका कर्मचारीले सिलिन्डरको भल्ब पूर्ण रूपमा सुरक्षित हुने गरी नकसेको पाइएको थियो। सुरक्षित हुने गरी नकसिएका भल्बबाट ग्यास'लिक' भएर आगलागी हुने र पड्किने सम्भावना प्रबल हुन्छ।

सिद्धार्थ उद्योग परिसरमा पुरानो, कच्याककुचुक परेको र गुणस्तरहीन सिलिन्डरमा नयाँ रङरोगन गरेर ग्यास भरी बजारमा पठाइए पनि सरकारले कुनै कारबाही गर्न सकेन। मन्त्री पुनले सिद्धार्थका आठ सय ६ थान सिलिन्डर सिलबन्दी गर्नमात्र निर्देशन दिए। सोही दिन मन्त्री पुनले उक्त स्थानमा रहेको सुगम ग्यास उद्योग परिसरमा पनि अनुगमन गरेका थिए।

सामान्यतया उपभोक्ताबाट खाली भएर फिर्ता आएको सिलिन्डर उद्योगमा आए पनि गुणस्तरसम्बन्धी परीक्षण गर्नुपर्ने हुन्छ। सिलिन्डरमा भएको लेदो, लिकेज, हाइड्रोस्टेटिक र अन्य प्रकारका प्राविधिक त्रुटिहरूसम्बन्धी परीक्षण गर्नुपर्छ।

सबै परीक्षण भइसकेपछि उक्त सिलिन्डरमा ग्यास भरेर पुनः प्राविधिक परीक्षण गरी प्रयोगका लागि'सुरक्षित' भएको अवस्थामा मात्र डिलरमार्फत उपभोक्ताको भान्सासम्म सिलिन्डर पुर्याउनुपर्छ।'तर उद्योगीले कुनै परीक्षण नै नगरी गुणस्तरहीन सिलिन्डरमा ग्यास भरेर सीधै उपभोक्ताको भान्साकोठासम्म पठाइएको पाइएको थियो', नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने।

उनका अनुसार अनुगमनका क्रममा सुगम ब्रान्डको सिलिन्डरमा तीन सय ३० ग्रामसम्म लेदो जमेको भेटिएको थियो।'सामान्यतया एक सय ५० ग्रामसम्म लेदो भेटिन सक्छ', पुडासैनीले भने,'तर जमेको लेदो मापदण्डभन्दा बढी भेटियो। यो ठूलो लापरबाही हो।' उनका अनुसार सुगम उद्योगले भरिसकिएको सिलिन्डरलाई पानीको ट्यांकीमा राखी सुरक्षित छ कि छैन भनेर परीक्षण गरेको समेत पाइएन।

यस्तै एचपी ब्रान्डका सिलिन्डरले पनि पालना गर्नुपर्ने कुनै पनि मापदण्ड पालना नगरेको भेटिएको थियो। एचपी र सुगमले हाइड्रोस्टेटिक परीक्षणबिनै सिलिन्डर उपभोक्ताको भान्साकोठासम्म पुर्याउने गरेको जानकारी अनुगमनमा संलग्न आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले दिए। 

सुरक्षित हुने गरी नकसिएका भल्बबाट ग्यास'लिक' भएर आगलागी हुने र पड्किने सम्भावना प्रबल हुन्छ। सामान्यतया उपभोक्ताबाट खाली भएर फिर्ता आएको सिलिन्डर उद्योगमा आए पनि गुणस्तरसम्बन्धी परीक्षण गर्नुपर्ने हुन्छ। सिलिन्डरमा भएको लेदो, लिकेज, हाइड्रोस्टेटिक र अन्य प्रकारका प्राविधिक त्रुटिहरूसम्बन्धी परीक्षण गर्नुपर्छ।

ग्यास उद्योग परिसरमा कम्तीमा पाँच लाख लिटर क्षमताको पानीको ट्यांकी राख्नुपर्छ। तर सुगम र एचपी उद्योगले उक्त मापदण्ड पनि पालना नगरेको पाइएको थियो।पछिल्लो समय ललितपुरमा एचपी ब्रान्डका सिलिन्डर पड्केको घटना सूक्ष्म रूपमा अध्ययन गर्न राष्ट्रिय उपभोक्ता मञ्चले जेठ ११ गते नै आपूर्ति मन्त्रालयलगायत अन्य सरोकारवाला निकायमा उजुरी दिएको थियो।

मञ्चले घटनास्थलको अध्ययन गरेर मन्त्रालयमा आफ्नो प्रतिवेदन पनि दिएको थियो जसअनुसार एचपी ब्रान्डको सिलिन्डरको फलामको पाताको मोटाइ १.८३ मिलिमिटर मात्रै थियो। मापदण्डअनुसार फलामे पाताको मोटाइ २.९ मिलिमिटर हुनुपर्छ। एचपी ग्यास दुर्घटना प्रकरण छानबिन गर्न मन्त्रालयले समिति पनि गठन गरेको छ।

 

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्षसमेत रहेका सुगम ग्यास उद्योगका सञ्चालक शिव घिमिरेले भने ग्यास रिफिलिङ गर्ने उद्योगले सिलिन्डर उत्पादन नगर्ने भएकाले सिलिन्डरको गुणस्तरहीनताका बारेमा ग्यास उद्योगीले जिम्मेवारी नलिने बताए। उनका अनुसार सिलिन्डर छुट्टै उद्योगले उत्पादन गर्ने र सिलिन्डर मापदण्डअनुसार छ वा छैन भनेर जाँच्ने नेपाल गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी भएकाले गुणस्तरको सबालमा ती दुवै निकाय बढी उत्तरदायी हुनुपर्छ। उनले आफ्नो उद्योगसँगै अन्य उद्योगले पनि नियमित रूपमा सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण गर्दै आएको दाबी गरे।

‘उद्योगमा गर्नुपर्ने सम्पूर्ण परीक्षण हामीले गर्दै आएका छौं', घिमिरेले भने,'तर सिलिन्डरको बनावट र गुणस्तरका बारेमा हामी जिम्मेवारी लिन सक्दैंनौं।'


एचपी ग्यासका उपत्यका सोल डिस्ट्रिब्युटर सन्तोष पाण्डेले ललितपुरको घटनामा वेल्डिङ गर्ने मेसिनले ब्याक फायर गरेका कारण एचपी ब्रान्डको सिलिन्डर फुलेर पड्केको दाबी गरे।

उनले उपभोक्ता, उद्योगी र सरकार संवेदनशील नभएका कारण ग्यासको सिलिन्डर पड्किने बताए। सिलिन्डरको गुणस्तरको सबालमा सरकार आफैंले कडाइका साथ अनुगमन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनले बताए।

उनले भने,'हाम्रो उद्योगको सिलिन्डर पहिलोपटक पड्किएको हो। त्यो पनि वेल्डिङ मेसिनले ब्याक फायर गर्दा सिलिन्डर फुलेर पड्किएको हो। यसमा प्राविधिक त्रुटि व्यवसायीको पनि देखिएको छ। सिलिन्डरको गुणस्तरको सबालमा सरकार नै जिम्मेवार बन्नुपर्छ।' पाण्डेले बजारमा भित्रिएको नक्कली रेगुलेटर र पाइपका कारण पनि यस्ता घटना दोहोरिने गरेको दाबी गरे।

ग्यास उद्योग बन्द गर्ने चेतावनी
एचपी ब्रान्डको ग्यास पड्केर भएको घटनाको केही दिनपछि आपूर्ति मन्त्रालयअन्तर्गतको उपभोक्ता संरक्षण परिषद्ले उक्त उद्योगको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) रोक्ने निर्णयसँगै ग्यास उद्योगीले ग्यास उद्योग बन्द गर्ने चेतावनी सरकारलाई दिएका छन्।

ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै एचपी उद्योगका हकमा पीडीओ बन्द गर्ने परिषद्को निर्णय पाँच दिनभित्र फिर्ता नलिए मुलुकभरका सम्पूर्ण उद्योगीले नेपाल आयल निगमसँग पीडीओ नबुझ्ने चेतावनी दिएका छन्। उद्योगीले पीडीओ नबुझे देशभर नै ग्यास उद्योगको सिलिन्डर उत्पादन गर्ने काम स्वतः ठप्प हुन्छ।

संघका महासचिव दिवान चन्दद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा छानबिन समितिको प्रतिवेदन आउन नपाउँदै र दोषी भनिएका उद्योगीलाई आफ्नो कुरा राख्नसमेत मौका नदिएर सरकारले एकलौटी रूपमा उद्योगलाई धराशायी बनाउन पीडीओ रोक्का गरेको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.