जिरीमा पर्यटनको आशा
![जिरीमा पर्यटनको आशा](https://annapurnapost.prixacdn.net/media/albums/5764ece542c7d9.06303464_pNhzhlPQHp.jpg)
–अर्जुन पाख्रिन
दोलखाको जिरी सुन्दरमात्र छैन, यसले पर्यटकीय सम्भावना पनि बोकेको छ । जिरी बजारलाई हेर्न मात्रै पनि पर्यटन आउने गरेका छन् । स्विट्जरल्यान्डको झल्को दिने जिरी बजारलाई विश्व पर्यटन वृत्तमा हेर्ने गरिएको छ । सगरमाथा प्रवेशद्वारका रूपमा रहेको जिरीमा पुनः विमानस्थल सञ्चालनको सम्भावना बढ्दै गएको छ । यसले ओरालो लागेको जिरीको पर्यटन व्यवसाय फेरि उकालो लाग्ने सम्भावना बढेको छ ।
३२ वर्षअघि बन्द भएको विमानस्थल पुनः सञ्चालन हुने भएपछि जिरीमा व्यावसायिक पर्र्यटन प्रवद्र्धकहरूको ध्यानाकृष्ट भएको छ । अहिले पनि विश्व पर्वतारोहण पर्यटन क्षेत्रमा जिरी बजारलाई मूल प्रवेश द्वारका रूपमा लिने गरिएको छ ।
स्विट्जरल्यान्डको जुरिक सहरजस्तै जिरी बजार पुनः पर्यटन केन्द्रका रूपमा स्थापित हुने भएको छ । भूकम्पपछि भौतिक संरचना ध्वस्त भएको जिरी बजार अहिले सुधारात्मक अवस्थामा छ । जिल्लाकै नेता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री (आनन्दप्रसाद पोखरेल) भएपछि जिल्लावासीले जिरी विमानस्थल पुनः सञ्चालन गरिदिन आग्रह गरेका थिए । मन्त्री स्ययं विमानस्थल सञ्चालनका लागि लागिपरेका छन् ।
तामाकोसी पारिको जिरी क्षेत्र आर्थिक रूपमा सदरमुकाम चरीकोटपछि दोस्रो सक्षम कृषि औद्योगिक क्षेत्रका रूपमा विकसित भएको छ । जिरी हालै नगरपालिका घोषणा भएको छ । नगरपालिका भएपछि स्थानीयवासीलाई थप अवसर र भूमिका बढाएको जिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष मधुकुमार कार्कीले बताए ।
जिरी राजधानीबाट करिब एक सय ८८ किलोमिटर टाढा छ । काठमाडौंबाट उडेका माउन्टेन फ्लाइट मौसम बिग्रिएमा जिरी विमानस्थलमा अवतरण गर्न सक्नेछन् ।
२०४२ सालमा लामोसाँघु जिरीसम्म सडक जोडिएपछि जिरी विमानस्थल विस्तारै बन्द भएको थियो । हवाई यातायातमा भन्दा कम खर्चमा बसबाट काठमाडौं पुगिने भएपछि विमानस्थल बन्द भएको जिरी नगर वाणिज्य संघका अध्यक्ष कार्कीले बताए । जिरी र काठमाडौंको हवाईमार्ग २० मिनेटको दूरीमा छ ।
संघका अध्यक्ष कार्कीका अनुसार २०५२ मा नापी भएपछि जिरी विमानस्थलको जग्गा कृषि मन्त्रालयअन्तर्गत जिरी कृषि फार्मको नाममा नामसारी भएको छ । सो जग्गा विमानस्थलकै रूपमा ल्याउन नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया थालिसकेको प्राधिकरणले जनाएको छ ।
अहिले विमानस्थलको जग्गामा गाई फार्म, रेम्बो ट्राउट माछा उत्पादन भइरहेका छन् । कुनै समय प्लेन उड्ने खाली जग्गा यति बेला गौचरनका रूपमा प्रयोग हुने गरेको छ ।
स्थानीय बुद्धिजीवी तथा अगुवाले जिरी विमानस्थलको आवश्यकता महसुस गर्दै विभिन्न ठाउँमा दबाब दिएपछि नेपाल सकारको आगामी आर्थिक वर्षको बजेटमा जिरी विमानस्थल निर्माण तथा पुनःसञ्चालन गर्ने भनिएको छ । बजेटमा विमानस्थलको मर्मतसम्भार गरेर पुनः सञ्चालन हुने कुरा उल्लेख भएपछि जिल्लावासी उत्साहित भएको संघका अध्यक्ष कार्कीले बताए ।
जिरी राजधानीबाट करिब एक सय ८८ किलोमिटर टाढा छ । काठमाडौंबाट उडेका माउन्टेन फ्लाइट मौसम बिग्रिएमा जिरी विमानस्थलमा अवतरण गर्न सक्नेछन् । यहाँबाट लुक्ला, सोलु, स्याङ्बोचेलगायतका स्थानमा माउन्टेन फ्लाइट गर्न सकिनेछ । अहिले पनि थ्रिएर कार्गोले सो विमानस्थल प्रयोग गर्दै आएका छन् ।
जिरी हेरिटेज प्वाइन्ट
जिरी टु सोलु म्याराथन, जिरी टु चेर्दुङ, जिरी टु पाँचपोखरी, शिवालय, गर्जाङ, हाइकिङ गर्न सकिने सम्भावना पर्खेर बसेको छ । जिरीबाट जटापोखरी म्याराथनको सम्भावना त्यत्तिकै छ । दोलखाको सूर्योदय देखिने हनुमन्ते डाँडासम्म पर्यटक पदमार्गका रूपमा विकासको सम्भावना पर्खिएर बसेको छ । यसको अध्ययनसमेत भइरहेको छ । दोलखाको चौंरीपालन र चौंरीको छुर्पी उत्पादन हुने चेर्दुङमा बाह्य पर्यन प्रवद्र्धन गर्न सकिएको छैन । विमानस्थलसँगै यो सम्भावनाको ढोका खुल्ने विश्वास स्थानीयवासीको छ ।
एसियाकै अग्लो बुद्धमूर्ति
जिरी नगरपालिका–६ मा बुद्धजयन्तीका अवसरमा शाक्यमुनि बुद्धको प्रतिमा शिलान्यास गरिएको छ । बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्रले निर्माण गर्न लागेको बुद्धको प्रतिमा एसियाकै अग्लो हुने दाबी निर्माण पक्षको छ । बुद्ध पार्कलगायतका भौतिक संरचना निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुसन्धान केन्द्रका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए ।
जिरीको चिया युरोपमा
जीटी डेभलपमेन्ट कम्पनी प्रालिले जिरीमा हिल अर्थोडक्स चिया उत्पादन गरिरहेको छ । जिरीको चिया भनेर पहिचान बनाइसकेको अग्र्यानिक चिया नेपालमा भन्दा युरोपका देशहरूमा खपत हुने गरेको छ । कम्पनीले २०५६ सालमा जिरीको कलंकस्थित सात सय ३५ रोपनी जग्गा लिएर चियाखेती सुरु गरेको थियो । अहिले तीन सय रोपनी जग्गामा चियाखेती गरिरहेको कम्पनीका संस्थापक नोर्बु शेर्पाले बताए । २०६२ सालबाट चिया उत्पादन हुन थालेको शेर्पाको भनाइ छ । चिया अग्र्यानिक र महँगो पर्ने भएपछि विदेश निर्यात हुने गरेको संस्थापक अध्यक्ष शेर्पाले जानकारी दिए ।
जिरी चेर्दुङको चिज
जिरी बजार चीज, घिउ, छुर्पी, गाई फार्मका लागि प्रसिद्ध छ । चेर्दुङ क्षेत्रमा पालिने चौंरी र यहाँ उत्पादित चीज नेपालकै उत्कृष्ट मानिन्छ । यहाँको चीज नेपालका प्रमुख सहरहरूमा पुग्ने गरेको छ । दोलखामा आउने आन्तरिक तथा बाह्य पर्यटकले जिरीको चीज कोसेलीको रूपमा लैजाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)