यूरोकपमा बेलायतबाट चार टोली अगाडि

यूरोकपमा बेलायतबाट चार टोली अगाडि

पेरिसः बेलायतबाट मात्र यसपटक युरोकपको नकआउट चरणमा चारवटा राष्ट्रले स्थान पक्का गरे । बेलायतबाट सहभागी भएका सबै टोली इङ्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले समूहगत चरण पार गरे ।

युरोकपमा बेलायतबाट यति धेरै राष्ट्रले सहभागिता जनाएको यो पहिलो पटक थियो । इङ्ल्यान्ड र वेल्स समूहको शीर्ष दुईमा रहेर अन्तिम १६ मा पुगे । उत्तरी आयरल्यान्ड र आयरल्यान्ड भने तेस्रो स्थानमा आउने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएका हुन् ।

युरोकपमा पहिलो पटक २४ टोलीले सहभागी भएका हुन् । यसअघिका संस्करणमा १६ टोलीमात्र सहभागी हुन्थे । यसपटक सहभागी टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोली र ६ वटा समूहबाट तेस्रो स्थानमा आउनेमध्ये उत्कृष्ट चार टोलीले नकआउट चरणमा स्थान बनाउने प्रावधान छ ।

बेलायतबाट स्कटल्यान्डले मात्र यस पटक युरोकपमा स्थान बनाउन सकेको थिएन । वेल्स र इङ्ल्यान्ड एउटै समूहमा भए पनि दुवै अगाडि बढे । वेल्सले दुई जित र एक हार तथा इङ्ल्यान्डले एक जित र दुई बराबरीको नतिजा निकाल्यो । नकआउट चरणमा भने वेल्सले उत्तरी आयरल्यान्ड र इङ््ल्यान्डले आइसल्यान्डको सामना गर्नेछन्।

उत्तरी आयरल्यान्ड र वेल्स दुवै पहिलो पटक युरोकपमा सहभागी भएका हुन् । समूह ‘सी' मा रहेको उत्तरी आयरल्यान्ड एक जित र दुई हारको नतिजामा अगाडि बढेको हो । ग्रुप अफ डेथमा रहेको आयरल्यान्डले पनि उक्त चुनौती पार ग¥यो । आयरल्यान्ड एक जित, एक बराबरी र एक हारको नतिजामा अगाडि बढेको हो । आयरल्यान्डले अब आयोजक फ्रान्सको सामना गर्नेछ । बेलायतका कुनै पनि राष्ट्रले हालसम्म युरोकपमा फाइनलसम्मको यात्रा तय गर्न सकेका छैनन् ।

पहिलो सहभागितामै सनसनी

जारी युरोकपमा ६ वटा टोली पहिलो पटक नकआउट चरण पुगेका हुन् । यो सफलता हात पार्ने टोलीमध्ये चार टोलीको पहिलो युरोकप सहभागिता हो । स्लोभाकिया, वेल्स, उत्तरी आयरल्यान्ड र आइसल्यान्ड पहिलो पटक युरोकपमा सहभागी भएका हुन् । युरोकपमा पहिलो पटक सहभागी भएको अल्बानिया भने गोलअन्तरमा पछाडि परेपछि अगाडि बढ्न सकेन ।

उत्तरी आयरल्यान्ड र आयरल्यान्डजस्तै स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा अगाडि बढ्न सफल भयो । समूहगत चरणको समाप्तिपछि तेस्रो स्थानमा आउने उत्कृष्ट टोलीको सूचीमा स्लोभाकिया शीर्ष स्थानमा रह्यो । समूहगत चरणमा स्लोभाकियाले एक जित, एक बराबरी र एक हारको नतिजा निकाल्यो । स्लोभाकियाले अब नकआउट चरणमा विश्वकप विजेता जर्मनीको सामना गर्नेछ । स्लोभाकिया यसअघि एकपटक सन् २०१० मा विश्वकपको नकआउट चरणमा पुगेको थियो ।

आइसल्यान्ड पनि पहिलो पटक युरोकपमा सहभागी भएको हो । आइसल्यान्डले युरोकपको सहभागितामै कीर्तिमान बनाइसकेको छ । युरोकपमा सहभागी हुने सबैभन्दा कम जनसंख्या भएको देशका रूपमा आइसल्यान्डले कीर्तिमान बनाएको हो । आइसल्यान्डको जनसंख्या करिब तीन लाख ५० हजार छ । आइसल्यान्डले पहिलो चरणमा एक जित र दुई बराबरीको नतिजा निकाल्यो । आइसल्यान्डले अब प्रिक्वार्टरफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ ।

पोल्यान्ड भने युरोकपमा तेस्रो सहभागितामा पहिलो पटक नकआउट चरणमा पुगेको हो । पोल्यान्डले पहिलो पटक सन् २००८ मा युरोकप खेलेको थियो । यसपटक पोल्यान्डले समूहगत चरणमा दुई जित र एक बराबरी खेलेर समूहको उपविजेता बन्यो । जर्मनीसँग समान अंक भए पनि पोल्यान्ड गोलअन्तरमा पछाडि पयो ।

विश्व विजेतासमेत रहेको जर्मनीसँग पोल्यान्डले बराबरी खेलेको थियो । आयरल्यान्ड पनि तेस्रो सहभागितामा नकआउट चरण पुगेको हो । आयरल्यान्डले यसअघि सन् १९८८ र सन् २०१२ मा सहभागिता जनाए पनि नकआउट चरणको यात्रा तय गर्न सकेको थिएन ।

नकआउट चरणमा पुग्ने हंगेरीको विगत भने रमाइलो छ । युरोकपमा यसअघि दुई पटक मात्र सहभागी भएको हंगेरी दुवैमा सेमिफाइनलसम्म पुगेको थियो । हंगेरी ४४ वर्षपछि यसपटक युरोकपमा सहभागी भएको हो । बेल्जियम पनि ३६ वर्षपछि यो प्रतियोगिताको नकआउट चरण पुगेको हो । बेल्जियम १६ वर्षपछि यसपटक यो प्रतियोगितामा सहभागी थियो ।

गोल अन्तर निर्णायक

समूहगत चरणमा चार उत्कृष्ट टोलीका लागि कडा प्रतिस्पर्धा रह्यो । ६ समूहमध्ये दुईवटा तेस्रो टोलीको समान चार अंक भयो भने चार टोलीको समान तीन अंक रह्यो । स्लोभाकिया र आयरल्यान्डले समान चार अंक जोडे । अन्य तेस्रा टोली पोर्चुगल, उत्तरी आयरल्यान्ड, टर्की र अल्बानियाको समान तीन अंक रह्यो । पोर्चुगल र उत्तरी आयरल्यान्डको गोलअन्तर शून्य रह्यो । पोर्चुगल जारी प्रतियोगितामा तीनवटै खेल बराबरी खेलेर अगाडि बढ्ने एकमात्र टोली बन्यो ।

यस पटक समूहगत चरणमा नौ टोली अपराजित रहे र ती सबै नकआउट चरण पुगे । समूह ‘ए' मा फ्रान्सले दुई जित र एक बराबरी तथा स्विट्जरल्यान्डले एक जित र दुई बराबरीको नतिजा निकाले । समूह ‘बी' मा अपराजित हुने एकमात्र टोली इङ्ल्यान्ड एक जित र दुई बराबरीको नतिजासहित समूहको उपविजेता बन्यो ।

समूह ‘सी' मा विजेता बनेको जर्मनी र उपविजेता बनेको पोल्यान्ड समान दुई जित र एक बराबरीको नतिजासहित अपराजित रहे । क्रोएसिया दुई जित र एक बराबरीको नतिजासहित समूह ‘डी' मा अपराजित रह्यो । समूह ‘एफ' मा तीन टोली अपराजित रहे । हंगेरी र आइसल्यान्ड दुवैले समान एक जित र दुई बराबरी खेले भने पोर्चुगल तीनवटै खेलमा बराबरीमा रोकियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.