युरोकपमा पहिलो जितसँगै पोर्चुगल क्वार्टर फाइनलमा
काठमाडौंः समूहगत चरणमा कम्जोर प्रतिद्वन्द्वीसँग पनि जित निकाल्न नसकेको पोर्चुगलले नकटआउट चरणमा बलियो प्रतिद्वन्द्वी क्रोएसियालाई पराजित गर्दै क्वार्टर फाइनलमा पुग्न सफल भएको छ ।
फ्रान्समा जारी युरोकप अन्तरगत तेस्रो प्रिक्वार्टर फाइनल भिडन्तमा पोर्चगुलले क्रोएसियालाई १–० को साँघुरो अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
समूह चरणमा हंगेरी अस्ट्रिया र आइसल्यान्डसँग बराबरी खेल्दै र्पोचुगल प्रिक्वार्टरमा पुगेको हो भने टर्की र स्पेनसलाई पराजित गरेको क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेलेको थियो ।
पोर्चुगललाई अन्तिम आठमा पुर्याउने क्रममा थपिएको अतिरक्ति समयको ११७ औं मिनेटमा रिकार्डो क्युयारेस्मले हेडमार्फत निर्णायक गोल गरे ।
खेलको निर्धारित ९० मिनेटको समयमा दुबै पक्ष गोल गर्न असफल भएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । क्रोएसियाका इभान पेरिसिकले प्रहार गरेको बल पोर्चुगलको पोस्टमा लागेर फर्केको एक मिनेटमै पोर्चुगल गोल गर्न सफल भयो ।
यसअघिका दुई प्रिक्वार्टर खेलमा स्वीटजरल्यान्डलाई पराजित गर्दै पोल्यान्ड र नोर्दन आयरल्यान्डलाई पराजित गर्दै वेल्सले अन्तिम आठको यात्रा तय गर्दै अघि बढिसकेको छन् ।