मधेस समाधानका लागि संविधान संशोधन : बाबुराम
जनकपुरधाम : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तराई मधेशमा जारी द्वन्द्वलाई समाधान गर्न संविधान संशोधन तत्काल गर्नुको विकल्प नरहेको बताएका छन् ।
बुधबार जनकपुर आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ संविधानमा भएको त्रुटिहरुलाई नसच्याइएसम्म तराई मधेसको समस्या समाधान गर्न नसकिने बताए । उनले भने, राज्यको सिंमाकनसहितको विषयमा देखिएका त्रुटिहरुलाई संविधान संशोधनको विकल्पलाई चांडै अवलम्बन गर्नु आवश्यक छ ।
उनले हिमाल, तराई र मधेसका जनता बिच जातिय एकता कायम गरि छोटो अवधिमा नेपाललाई विकासको चुचुरोमा पुर्याउन आफ्नो पार्टीले अभियान चलाएको बताए ।
नेपालमा शासन सत्ता चलाउने एक वर्गले अर्को समुदायलाई हेला गरेको र सधैं उपेक्षा गरिराखेकै कारण पहिचानको संकट उत्पन्न भई विरोधका स्वर उठेको बताए । आफ्नो पहिचान स्थापित गर्नका लागि आन्दोलन भईरहेको कारण नयाँ संविधानमा सबैले आफ्नो अपनत्व बुझ्ने खालको व्यवस्था गरिनुपर्ने उनको भनाइ रहेको थियो ।
यसैक्रममा पार्टीद्धारा आयोजना गरिएको कार्यक्रममा समेत सहभागी भएका नेता भट्टराईले नयाँ शक्तिलाई नेपालकै पहिलो नम्बरको पार्टी बनाउन व्यापक अभियान थाल्नुपर्ने बताए ।