रोल्पामा पहिरोले पुरिएर चार बेपत्ता
रोल्पाः रोल्पामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् भने केही गाउँ जोखिममा परेका छन् । पूर्वरोल्पाको उवा गाविस ९ बेसीकम्पु गाउँको एक घर बगाउँदा ४० वर्षीया मनकुमारी पुन मगर, उनका दुई छोरा र एक छोरी पुरिएरको गाउँलेले प्रहरीलाई खबर गरेका छन् ।
डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार मंगलबार रातभरको बर्षाले घर घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका हुन् । सदरमुकाम भन्दा एक दिनको पैदल दुरीमा रहेकाले अझैसम्म प्रहरी घटनास्थल स्थल पुग्न सकेको छैन । घटनास्थल जाँदै गरेको प्रहरी समेत सम्पर्क बाहिर छ ।
करिब सात सय सर्वसाधारण उवा कै भानुभक्त माद्यामिक विद्यालयमा छन् आश्रय लिएर बसेका छन् । रोल्पाको पोवाङ, सुलिचौर र सदरमुकाम लिवाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिडेको छ ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार सदरमुकाम लिवाङबाट खड्गदल गणबाट नेपाली सेनाको टोली समेत घटनास्थलतर्फ हिडेको छ ।
उवा गाविसका ठूलोगाउँ, पिरङ्गी, लगङ्जा र कुस्पाङ गाउँ पहिरोको जोखिममा छन् ।
अर्को गाम गाविसका समेत १५ घर पहिरोको जोखिममा रहेकाले प्रहरीले त्यहाँका स्थानीयबासीलाई उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।