पहिरोले पोखराको खानेपानी धरापमा

पहिरोले पोखराको खानेपानी धरापमा

पोखराः मर्दी खोलाबाट पोखरासम्म ल्याइएको पाइप टुटेपछि पोखरामा पानीको अभाव सुरु भएको छ । खानेपानी संस्थानले निर्माण गर्न लगाएको सपोर्टवाल ठेकेदारले बेलैमा नसक्दा पाइप भाँच्चिएको हो ।

मर्दी मुहानदेखि केही तल सेती नदी र मर्दी खोला दोभान नजिकै खानेपानीको पाइप मंगलबारको बाढीले भाँचेको छ । पाइप जोगाउन उचित प्रबन्ध नगरिएकाले सधैं जोखिम भएपछि संस्थानले सपोर्टवाल निर्माण थालेको थियो ।

बाढी छेक्ने सिमेन्टेड पर्खाल बर्खा लाग्नुअघि नै सकिनुपर्नेमा काम बाँकी नै छ । यही बेला आएको बाढीले ग्याबिन वालमा भत्काउँदै पाइप भाँचेको हो ।
बाढीले पानी ल्याउने १६ र २० इन्च दुइटामध्ये २० इन्चको पाइप भाँच्चिएको छ । अर्काे पनि उत्तिकै धरापमा छ । कतिबेला भाँच्चिने हो भन्ने स्थितिमा छ ।

एउटा पाइप भाँच्चिएरपछि पोखरामा पानीको आपूर्ति आधा कम भएको संस्थानको पोखरा कार्यालय प्रमुख निरण महर्जनले जानकारी दिए । उनका अनुसार संस्थानले अहिले पोखरामा दैनिक साढे ४ करोड लिटर पानी आपूर्ति गरिरहेको छ । त्यो पानीका उपभोक्ता ४ लाख छन् ।

संस्थानले पाइप जोगाउने पर्खाल निर्माण गर्न आह्वान गरेको ठेक्का स्वीकारेर फेवा र मनोज कन्स्ट्रक्सन प्रालिे संयुक्त रुपमा काम सुरु गरेका हुन् ।

‘सक्नुपर्ने काम बेलामा नसकेकाले ठेकेदारकै कमजोरीका कारण पाइप भाँच्चियो’, संस्थान प्रमुख महर्जनले अन्नपूर्णसँग भने । बर्खा लाग्छ र सेती नदीमा पानी बढ्छ भन्ने सामान्य कुरा ख्याल नगरी ठेकेदार कम्पनीले बेलामा काम नसकेको महर्जनले सुनाए । त्यसका लागि कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि उनले बताए ।

पोखराको खानेपानी आपूर्ति नियमित गर्न अब १५ दिन लाग्ने अनुमान संस्थानले गरेको छ । ‘मर्मतका लागि कम्पनीहरुसँग कोटेसन मागेका छौं’, महर्जनले भने, ‘छनोट गरेर मर्मत गर्दा त्यति दिन त पक्कै लाग्ला ।’

अहिले डीआई पाइपबाट पानी ल्याइएको छ । मर्मत गरेर जडान गर्दा भने अब स्टीलको पाइप राखिन लागेको जानकारी संस्थानका इन्जिनियर दिनेश्वर यादवले दिए । ‘डीआईको जडान केही कमजोर पनि हुन्छ, त्यसैले सधैं टुट्ने ठाउँमा स्टीलै प्रयोग गर्ने हो’, उनले भने ।

पोखरामा आपूर्ति हुनेमध्ये ९० प्रतिशत पानीको स्रोत मर्दीखोला नै हो । त्यही खोलाबाट ल्याएको पाइप धरापमा हुँदा पूरै पोखरेली काकाकुल हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

६९ सालको वैशाख १९ गते सेती नदीमा आएको बाढीले पनि त्यही ठाउँमा पाइप बगाएको थियो । त्यसपछि पनि बर्सेनि खानेपानी संस्थानले त्यहाँ पाइप मर्मत सम्भार गरिरहनुपरेको छ । मर्मतका लागि पानीमा संस्थानले लाखौं पैसा बगाउँदै आएको छ । जिल्ला विकास समितिले ढुंगा, बालुवा र गिटी निकाल्न दिने ठेक्का पनि संस्थानको टाउको दुखाइ बन्ने गरेको छ । पाइप अड्याएका ग्याबिन वालका ढुंगा पनि खानी ठेकेदारका मजदुरले निकाल्दिने गरेका छन् ।

‘त्यसैले खति र खर्च हुँदै आएको छ’, इन्जिनियर यादवले भने । त्यसमाथि यस वर्ष जिविसले पानीको मुहानबाटै बालुवा निकाल्ने ठेक्का आह्वान गरेको छ । यद्यपि पोखरेलीहरुको विरोधका कारण जिविसले ठेक्का अगाडि बढाएको थिएन । पुनरावेदन अदालत पोखराले पनि उक्त ठेक्का प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.