मोरङका बाढीपीडित भोकभोकै

मोरङका बाढीपीडित भोकभोकै


मोरङःमोरङको अमरदह २ सुगाबजारकी मीना राजवंशीको मुखमा अन्नको गेडो नपरेको पाँच दिन भइसक्यो । बक्राहा खोलाले बाँध फुटाएर बस्तीतर्फ उर्लिएकै दिनदेखि उनी र परिवार भोकै छन् । बाढीको पानी घट्ने छाँटकाँट नै छैन । बक्राहाको भंगालोले घेरेको घरअगाडि कम्मरमुन्तिरसम्म पानीमा डुबेर उभिएको अवस्थामा भेटिएकी मीनाले भनिन्, ‘दालभात र रसिलो कुरा नखाएको पाँच दिन भइसक्यो, सुख्खा भुजा टोकेर दिनरात कटाएका छौं । थुक पनि सुक्न लागि सक्यो ।'

उनको टोलका अधिकांशले खान र सुत्न पाएका छैनन् । पिउने पानीको चर्को अभाव छ । बालबच्चा र बूढाबूढीको त झनै बिजोग छ । टोलका कुनै पनि घर सध्ये छैनन् । पानी पसेको छ । अन्नपात, लत्ताकपडा, राखनधरन सबै लेदोमा पुरिएको छ । खोलो गाउँतिर फर्किएपछि बाढीले गोठ पनि डुबाउँदा बस्तुभाउको ठूलो बिचल्ली भएको छ । हजारौं बिघा धानखेत माथिबाट समुन्द्रजस्तै देखिने गरी बक्राहा खोला बग्न थालेको छ । ७ दिनअघि बक्राहाले हसन्दह ३ जयनगरबाट बाँध फुटाएर पश्चिम मानव बस्तीतर्फ पस्दा अमरदह १, २ र ९, हसन्दह ३ र ५, डायनिया गोविन्दपुरका धेरै वडा डुबानमा परेका छन् ।

बाढीले डुबाएकोहेर्न दैनिक सयौंको संख्यामा रमिते पुगिरहेको तर पीडितका लागि खाद्यान्न र पानी लिएर कोही पनि नपुगेको दुखेसो गर्दै हसन्दह २ का वीरेन्द्र ऋषिदेवले भने, ‘घर पानीमा डुबेपछि स्कुलमा बसेका छौं, भएको सबै सामान पानीभित्रै छ । ज्यान मात्र लिएर यहाँ बसेका छौं । बाढी हेर्न धेरै आउँछन् तर हाम्रा लागि राहत दिन कोही पनि आएनन् ।' ऋषिदेवले भुजा मात्र खान पाएको बताउँदै बालबच्चा र वृद्धवृद्धालाई के खुवाउने भन्ने चिन्ता भएको गुनासो गरे ।

राहत वितरण नै भएन

पर्याप्त मात्रामा राहत सामग्री पुग्न नसक्दा मोरङका बाढीपीडित क्षेत्रका बासिन्दालाई निकै समस्या भएको छ । राहतका नाममा सानो परिमाणमा सुख्खा चिउरा, प्याज, खुर्सानी र चाउचाउ वितरण भएको छ । तर ठूलो संख्यामा रहेका पीडितका लागि ती सामग्री अपर्याप्त छ । पीडितले त्रिपाल माग गरे पनि वितण हुन सकेको छैन । कल र इनारसमेत डुबाएकाले पिउने पानीको अभाव भएको छ । पीडित चर्मो ऋषिदेवले भने, ‘कलनै पानीमा डुबेको छ, कहाँबाट पानी निकाल्ने ? '

 

नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार बाढीबाट हालसम्म गोविन्दपुरमा ५ सय, अमरदहमा ३ सय, डाइनियामा ४ सय, आमगाछीमा ३ सय, विराटनगर–१६ मा एक सय, हसन्दहमा २ सय, मधुमल्लामा ४०, सोराभागमा २६, बबियाविर्तामा ३६, बाहुनीमा ४, बनिगामामा ४,केरौनमा–३, दर्वेशामा–१ सय २३ र रंगेलीमा ५ सय परिवार विस्थापित/प्रभावित भएका छन् ।

शाखा प्रमुख कमल कोइरालाका अनुसार हालसम्म जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र युनिसेफसमेतको सहयोगमा प्राप्त चिउरा, भुजा, प्याज, नुन, खुर्सानी वितरण गरिएको छ । त्यसबाहेक राहत सामग्री वितरण भएको छैन । ८ सय ५१ परिवारलाई मात्र राहत वितरण भएको जानकारी दिँदै कोइालाले भने, ‘प्राप्त राहत पुर्‍याउने कोसिस भइरहेको छ ।'मोरङमा करिब २ हजार परिवार बाढीबाट प्रभावित बनेका छन् ।

कमजोर बाँधप्रति सरकारी बेवास्ता

असार पहिलो साता नै बक्राहाले बाँध कटान गरी कमजोर गराएको स्थानीयवासीले सरकारी निकायलाई जानकारी गराएको तर बेवास्ता गरिँदा साउनको भेलले फुटेको पीडितले बताएका छन् । जयनगरमा बाँध कटान भएपछि विराटनगरस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई जानकारी गराउँदा बाँसका भाटा गाड्ने र बोराले थुन्ने मात्र प्रयास भएको स्थानीय गणेशप्रसाद घिमिरेले बताए । उनले भने, ‘तारजालीले बाँधेर ढुंगाको स्पर बनाउन माग गरेका थियौं तर माथिबाट बजेट नै आएको छैन भन्दै काम गरेनन् ।' सम्बन्धित क्षेत्रका सांसदलाई समस्याबारे जानकारी गराउँदासमते बाँध दह्रो गरी बाँध्ने काम हुन नसेको घिमिरेले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.