सुनसरीमा दुई सय ८५ घर विस्थापित

सुनसरीमा दुई सय ८५ घर विस्थापित

इटहरीः लगातारको वर्षाका कारण विभिन्न खोलामा आएको बाढी बस्तीमा पसेपछि घर भत्किएर र डुबानमा परेर सुनसरीका २ सय ८५ घर परिवार विस्थापित भएका छन् । बाढीले जिल्लामा २० घर पूर्ण रूपमा भत्काएको छ । बाढीका कारण सुनसरीमा एक हजार ४ सय ६१ जना सर्वसाधारणको बिचल्ली भएको छ ।

बाढीले सुनसरीमा सबैभन्दा बढी घर अमडुवा गाविसमा भत्काएको छ । अमडुवा गाविसका विभिन्न वडाका एक सय १३ घरमा क्षति पुर्‍याएको छ । बाढीले तनमुना गाविसमा ५७ घर, छिटाहा गाविसमा ४६ घर, अमाहिबेला गाविसमा १७ घर, दुहबीभलुवा नगरपालिकामा १७ घर, धरान उपमहानगरपालिकामा १५ घर, रामनगर भुटाहा गाविसमा ९ घर, राजगन्जसिनुवारी गाविसमा पाँच घर, चिमडी गाविसमा तीन घर, इटहरी उपमहानगरपालिकामा दुई र वसन्तपुर गाविसमा एक घर भत्काएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इंले बताएका छन् ।

बाढीले बगाएर सुनसरीमा दुईजनाको मृत्यु भएको छ भने जिल्लाका विभिन्न गाविसमा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । घर डुबानमा परी विस्थापित भएकाहरूलाई स्थानीय प्रशासनले तत्काल त्रिपाल उपलब्ध गराएर विभिन्न विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनमा अस्थायी बसोवासको व्यवस्था मिलाइएको प्रजिअ चापागाईंले बताएका छन् ।

 

सुनसरीका सिमरिया, तनमुना, छिटाहा, साहेबगन्ज, हरिनगरा , कप्तागन्ज, देवानगन्ज, राजगन्जसिनुवारी, लौकही, हरिपुर, श्रीपुर, प्रकाशपुर, भोक्राहा, मधुवनलगायतका गाविसका करिब एक हजारभन्दा बढी घर डुबानमा परेको सुनसुरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । उनले बाढीबाट धनजनको क्षति हुन नदिन सशस्त्र प्रहरीसँग समन्वय गरेर उद्धार कार्य जारी राखेको जानकारी दिए । राजगन्ज सिनुवारीका महेश्वर यादवले बाढीका कारण विस्तापित भएकालाई स्थानीय प्रशासनले राहत सामग्री नदिएको गुनासो गरेका छन् ।

बाढीका कारण घर भत्किएर र डुबानमा परेर विस्थापित भएकाहरू स्थानीय विद्यालयको शरणमा छन् । सुनसरीमा बूढीखोला, मरियाखोला, धनउष्णा खोला, गाड्नाखोला र सुनसरी खोलाको बाढी दक्षिणि क्षेत्रका गाविसका बस्तीमा पसेपछि बस्ती डुबानमा परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.