राजधानीमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु
काठमाडौँ: राजधानीको कपनमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपन पैयुँटारका ईश्वर खड्का, उनका भाइ किशोर खड्का र विशाल बस्नेत छन् ।
प्रहरीका अनुसार करिब ४५ फिट गहिरो इनार सफा गर्न गएका ईश्वर नर्फकिएपछि उनलाई बचाउन किशोर र विशाल समेत इनार भित्र छिरेका थिए । तीनै जना नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको विपद् व्यवस्थापनको टीम र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले इनारभित्र फसेका तीनै जनालाई निकालेको थियो । उद्धार गरेर निकालिएका तीनै जनाको मृत्यु भइसकेको थियो । प्रहरीले प्रक्रिया पुरा गर्न मात्रै महाराजगंजस्थित त्रिभुवन शिक्षण अस्पताल पुर्याएको थियो । अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए ।
प्रभागका प्रमुख प्रहरी निरीक्षक फणिन्द्र रानाभाटका अनुसार इनारमा फसेका तीन जनालाई जीवितै उद्धार गर्न विपद्को टोलीले धेरै प्रयास गर्दा पनि नसकिएको हो ।
स्थानीयले प्रहरीको कन्ट्रोल नम्बर १०० मा खबर गरेपछि प्रभागमा खबर पुगेको थियो । प्रभागको प्रहरी टोली पाँच मिनेटमै घटनास्थल पुगेपनि इनारभित्र छिर्ने र उद्धार सामाग्री नहुँदा विपद्को टोली बोलाएको थियो ।
सामाखुसीबाट आउनुपर्ने विपद्को टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो । आधाघण्टा लगाएर तीन जनालाई इनारभित्रबाट झिके पनि उनीहरुलाई जीवितै उद्धार गर्न भने प्रहरी असफल बन्यो ।
तीनै जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमै बुझाइएको जानकारी प्रहरी निरीक्षक रानाभाटले दिए । ईश्वर र किशोरका बुबाको ६ महिना अगाडि मात्रै मृत्यु भएको थियो । परिवारमा उनीहरु दुई छोरा मात्रै थिए ।