भारतले भन्योःदाहाल सरकारका प्राथमिकता बुझ्नेछौं

भारतले भन्योःदाहाल सरकारका प्राथमिकता बुझ्नेछौं

काठमाडौंः नयाँ सरकार बनेलगत्तै दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि बिहीबार अपराह्न नयाँदिल्ली पुगेका छन् ।

निधिको भ्रमणभन्दा एक दिनपूर्व भारतीय राजदूत रञ्जित रेले निधिको यात्रामा प्रधानमन्त्री दाहाल तथा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका मितिहरू निर्धारण हुने बताएका थिए ।

मन्त्री निधिलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले स्वागत गरेका थिए ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उपप्रधानमन्त्री निधिले भारतसँगको सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्द्रित रहेको बताए । ‘नाकाबन्दीपछि भारत र नेपालबीच देखिएको असमझदारी हटाएर सम्बन्ध सुधार्न मेरो भ्रमण केन्द्रित रहनेछ’, उनले भने ।

उनले नेपाल र भारतबीच द्विपक्षीय भ्रमणहरू गराउन आफ्नो भ्रमणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने र त्यसको मितिसमेत निर्धारण गर्न आफूले भ्रमणका क्रममा कोसिस गर्ने उनले बताए ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्ने विषयमा भारतीय पक्षसँग कुराकानी हुने निधिले बताए । ‘मेरो भ्रमणले नेपाल‍भारत सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु’, उनले भने ।

मन्त्री निधिले भारत बसाइका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र विपक्षी दल कांग्रेस आईका नेतासँग भेट्ने तय भएको छ ।

नेपालमा नयाँ संविधान जारी भएको वार्षिकोत्सव अर्थात् असोज ३ गतेको अवसर पारेर भारतीय राष्ट्रपतिलाई भ्रमण गराउने पक्षमा नेपाल सरकार छ ।

भ्रमणका क्रममा मन्त्री निधिले मधेसी दलहरूको माग सम्बोधनका लागि सरकारले चाल्ने कदमबारे समेत छलफल गर्नेछन् ।
निधिले शनिबार भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजसँग अलगअलग भेट गर्नेछन् । मन्त्री निधि भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनेछन् ।

 नयाँ सरकारका प्राथमिकता बुझ्छौंः भारत


भारतले विशेषदूत निधिको भ्रमणलाई नेपालमा बनेको नयाँ सरकारका प्राथमिकता बुझ्ने अवसरका रूपमा लिएको छ ।

भारतीय विदेश मन्त्रालय साउथ ब्लकमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अहिलेको सरकारसँग निकट रही काम गर्न चाहेको उल्लेख गरे ।

‘प्रचण्डको नेतृत्वमा सरकार बनेयता नेपाल सरकारका तर्फबाट निधिको भ्रमण पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो । उहाँको भ्रमणले नेपालमा बनेको नयाँ सरकारको प्राथमिकताबारे हामीलाई जानकारी लिने अवसर प्रदान गर्नेछ’, स्वरूपले भने, ‘साथै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई कसरी थप सुदृढ गर्ने भन्ने उपायहरूका विषयमा यस भ्रमणमा छलफल हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.