५१ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौंः तराई, मधेस र थरुहटमा सीमांकन विवादमा भएको आन्दोलनमा निधन भएका ५१ जनालाई सरकारले सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले कैलालीका दुईवर्षीय टेकबहादुर साउद र जलेश्वरका ७० वर्षीय गणेश चौधरीसहित ५१ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सहिद घोषणा गरिएकामा ४० जना आन्दोलनकारी हुन् भने ११ जना सुरक्षाकर्मी हुन् । मृतकमध्ये ४० जनाको हकदारलाई १० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ ।
बैठकले मधेस आन्दोलनमा भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको छ । सात सदस्यीय आयोगका अन्य सदस्य प्रधानमन्त्रीको समन्वयमा गृह मन्त्रालयले तोक्नेछ ।
मन्त्रिपरिषद्ले तीनवटा विद्युत् प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार केही विद्युत् प्रसारण लाइन आयोजनाको राइट अफ वे निर्माण तथा सञ्चालनका लागि वर्षात्को समयमा पनि वन क्षेत्रभित्र परेका रूखबिरुवा संकलन गरी हटाउन स्कीकृति दिने निर्णय गरिएको छ ।
हेटौडा-ढल्केबर-दुहबी चार सय केभी प्रसारण लाइन, हेटौडा-बर्दघाट दुई सय २० केभी प्रसारण लाइन र भुलभुले-मध्यमस्र्याङ्दी एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको राइट अफ वेसहित टावर निर्माण तथा सञ्चालन गर्न मन्त्रिपरिषद्ले सहज बनाइदिएको हो ।
तीनवटा प्रसारण लाइनको राइट अफ वेमा परेका रूखबिरुवा हटाउँदा वन क्षेत्रको पुनरोत्पादनलाई प्रतिकूल असर नपर्ने गरी काम गर्नुपर्ने, लगातार पानी परेको समयावधिमा वन क्षेत्र प्रवेश नगर्ने, वन क्षेत्र प्रवेश गर्दा जिल्ला वन अधिकृतले तोकिदिएको एउटामात्र बाटो प्रयोग गर्ने सर्त तोकिएको छ ।
मन्त्रिपरिषद्ले काबुल आक्रमणमा मारिएका नेपालीको शव नेपाल ल्याउन लागेको हवाई खर्चको भुक्तानी दिने निर्णय गरेको छ । अपगानिस्तानको काबुलमा आतंककारी आक्रमणमा परी निधन भएका नेपालीको शव नेपाल ल्याउन नेपाल वायुसेवा निगमको जहाज काठमाडौं-काबुल-काठमाडौं सेक्टरमा चार्टर्ड गर्दा ७८ लाख ७३ हजार चार सय १४ रुपैयाँ, ती शव मृतकका परिवारलाई हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकोप्टर तथा स्काई ट्रक प्रयोग भएबापत १२ लाख ४३ हजार दुई सय ९४ रुपैयाँ गरी ९१ लाख १६ हजार सात सय आठ रुपैयाँ सम्बन्धित निकायलाई भुक्तानी दिन अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई निकासा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
गत असार ६ गते अफगानिस्तानमा भएको बम आक्रमणमा परी १३ जना नेपालीको मृत्यु भएको थियो । बैठकले स्थानीय तह गठनसम्बन्धी प्रक्रिया निर्धारण गर्न, स्थानीय तहको गठन सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया सुनिश्चित गर्न, स्थानीय तहको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्था सुनिश्चित गर्न, निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी अन्य व्यवस्थाको सम्बन्धमा निक्र्योल गर्न स्थानीय तह निर्वाचन कार्यविधि ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिएको छ ।
विद्युत् प्रसारण लाइन निर्माणको अवरोध हटाइने
काबुलबाट नेपाली उद्धारको खर्च बेहोर्ने
स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति
मन्त्रिपरिषद्ले योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गरेको छ भने प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामदीप आचार्यलाई नियुक्त गरेको छ ।
यस्तै मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी पूर्णबहादुर सिलवाललाई पाँच युनिट आर्म पर्सनल क्यारियर (एपीसी) खरिदका लागि चीनको नोरिन्को उत्पादक कम्पनीमा भदौ ६ गते पठाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सिरिया मिसनमा तैनाथ युनिटका लागि सो उपकरण आवश्यक परेको रक्षा मन्त्रालयले जनाएको छ । यसैगरी भदौ १६ र १७ गते श्रीलंकामा हुने सफट पावर एन्ड इटस इन्फयुन्स अन ग्लोबल इस्यु विषयमा हुने कोलम्बो डिफेन्स सेमिनारमा भाग लिन नेपाली सेनाका उपरथी प्रह्लाद थापालाई पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !