जापानकी कुस्तीबाज इचोको सनसनी
![जापानकी कुस्तीबाज इचोको सनसनी](https://annapurnapost.prixacdn.net/media/albums/APTOPIX-Rio-Olympics-_Dutt--57b6bbda8f0b18.58654810_mItk4rpABZ.png)
रियो दी जेनेरियोः जापानी कुस्ती खेलाडी काओरी इचोले ओलम्पिक खेलकुदमा लगातार चौथो पटक स्वर्ण पदक जितेकी छिन् ।
ओलम्पिकको महिला कुस्तीमा यो सफलता हात पार्ने उनी पहिलो खेलाडी बनिन् । जारी रियो ओलम्पिकअन्तर्गत ५८ कैजी तौल फ्रिस्टाइलमा इचोले फाइनलमा रुसकी भालेरिया कोब्लोभा झोलोबोभालाई ३-२ ले पराजित गरिन् । ‘यो सफलतामा सहयोग गर्ने सबैलाई म बिर्सन सक्दिनँ’, उनले भनिन् ।
इचो ओलम्पिक खेलकुदका लगातार चार संस्करणमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि बनेकी छिन् । सन् २००४ को एथेन्स ओलम्पिकमा महिला कुस्तीलाई पहिलो पटक समावेश गरेयता उनी सबै संस्करणमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । यसै वर्षमात्र ३२ वर्षीया इचोलाई मंगोलियाकी ओर्खन पुरेभ्दोर्जले हराएर उनको लगातार एक सय ८९ खेलको अपराजित यात्रा अन्त्य गरेकी थिइन् ।
टेबलटेनिसमा चीनको क्लिन स्विप
चीनले लगातार तेस्रो ओलम्पिक खेलकुदको टेबलटेनिसमा सम्पूर्ण स्वर्ण पदक जितेको छ । टिम स्पर्धाको फाइनलमा चीनले बिहीबार जापानलाई ३–१ ले हरायो ।
सन् १९८८ मा पहिलो पटक टेबलटेनिसलाई ओलम्पिक खेलकुदमा समावेश गरेयता हरेक ओलम्पिकमा यो खेलको महिला एकल स्पर्धाको उपाधि चीनले जितेको छ । चीनले पुरुष विश्व टिम च्याम्पियनसिपको पछिल्ला नौ संस्करणको उपाधि जितेको छ । ओलम्पिकमा टेबलटेनिसको टिम स्पर्धा समावेश गर्न थालिएको यो तेस्रो संस्करण हो जसमा सबैमा चीनले स्वर्ण जितेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)