नेविससंघ महाधिवेशनः ठूलो कसरतपछि सफल

नेविससंघ महाधिवेशनः ठूलो कसरतपछि सफल

काठमाडौंः मुलुककै सबैभन्दा पुरानो विद्यार्थीको संस्था नेपाल विद्यार्थी संघले नौ वर्षपछि नयाँ नेतृत्व पाएको छ । संघमा बिहीबार निर्वाचित एक सय २९ सदस्यीय केन्द्रीय समितिले विद्यार्थीमा नयाँ आशा र भरोसा ल्याएको छ ।

यसअघि संघको अधिवेशनका लागि मिति तोकेर पनि दर्जनपटक स्थगित भएका थिए । कांग्रेसकै सबैभन्दा ठूलो भ्रातृ संस्थाको निर्वाचन हुन नसक्दा कांग्रेसको आन्तरिक लोकतन्त्रमाथि टीकाटिप्पणी भएका थिए । लामो समयपछि संघको अधिवेशन कसरी सम्भव भयो त ?

पार्टीद्वारा गठित महाधिवेशन निर्देशक समितिका संयोजक नेता प्रकाशशरण महत पार्टी सभापतिको कुनै पनि हालतमा अधिवेशन गराउने चाहना र निर्देशन समितिका सबैको अधिवेशनप्रतिको लगावले सम्भव भएको बताउँछन् । ‘अधिवेशनमा कसले जित्छ र कसले हार्छ भन्ने अनुमान वा अग्राहपूर्वाग्रह वास्ता नगरी अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने पार्टी सभापतिको मनोइच्छाले अधिवेशन सम्भव भएको हो’, महतले अन्नपूर्णसँग भने, ‘सभापतिको इच्छालाई निर्देशक समितिले ठूलो परि श्रम गरेर पूरा गरेका हौं ।’

यसअघि संघको अधिवेशन नहुनुमा नेतृत्व कसको पोल्टामा जान्छ भन्ने तत्कालीन पार्टी नेतृत्वको पूर्वाग्रहपूर्ण सोच मुख्य कारण भएकाले सम्भव नभएको त्यतिबेलै टिप्पणी भएको थियो । त्यसको राम्रो जानकार रहेका सभापति शेरबहादुर देउवाले चैतमा सभापति निर्वाचित भएलगत्तै पहिलो बैठकबाट भ्रातृ संस्थाको अधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थिए ।

देउवाको निर्णयअनुसार ६ महिना पुग्न नपाउँदै नेविसंघको अधिवेशन सम्पन्न भएको छ भने अन्य दुई भ्रातृ संस्था तरुण दल र महिला संघको अधिवेशन भदौ तेस्रो साताका लागि तोकिएको छ । संघको अधिवेशन यसअघिजस्तै मिति तोकेर स्थगित नगर्न देउवाले आफ्ना निकट सहयोगी र जिम्मेवारी तथा इमानदारीका साथ पूरा गर्ने क्षमता र इच्छाशक्ति बोकेका महतलाई त्यसको जिम्मेवारी तोके ।

नेपाल विद्यार्थी संघको विधानमै दुईदुई वर्षमा अधिवेशन गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ भने नयाँ संविधानअनुसार पूर्ण समावेशी र प्रादेशिक संरचनामा संगठन रूपान्तरित भएको छ । संघको नयाँ केन्द्रीय समितिमा समग्र नेपालको अनुहार पाइन्छ ।

जुन जिम्मेवारी महतले सफलतापूर्वक सम्पन्न गरेर देउवाको पहिलो खुड्किलो सफल बनाए । ‘म पनि नेविसंघ राजनीतिबाट आएकाले पनि संघको अधिवेशन कसले जित्छ र कसले हार्छ भन्ने वा नतिजालाई प्राथमिकतामा नराखी नेतृत्व चुनावबाटै ल्याउने अभियानमा लागें’, महतले भने, ‘कतिपय अवस्था यति कठिन थिए कि अधिवेशन प्रक्रिया अघि बढाउन धेरै मुस्किल थियो तर दिनरात खटेर मैले त्यो कठिनाइ पार लगाएँ । सुम्पिएको जिम्मेवारी पूरा गरें ।’

देउवाले गत असार १० गते महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरु घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठोर रहेको निर्देशन समिति गठन गरेका थिए । गठन भएको भोलिपल्टदेखि समिति जिल्ला अधिवेशन हुन नसकेका ११ जिल्ला र केही क्याम्पसको विवाद मिलाउन सक्रिय भयो ।

‘केही नेताहरूले विवाद मिलाउनभन्दा विवाद बढाउन पनि नखोजेका होइनन्’, महतले भने, ‘तर मैले मेरै घरमा लगातार १९ दिनसम्म दिनरात निर्देशक समितिको बैठक राखेर सहमतिका सबै सम्भावना खुला गरें । समितिका अन्य साथीहरू पनि त्यसमा लचक हुनुभयो र प्रतिनिधि विवाद समाधान गरेर अधिवेशन सम्भव भयो ।’

निर्देशक समितिले अधिवेशन सफल गरेर अहिले कांग्रेस वृत्तमा जुन प्रशंसा बटुलेको छ उसले अझै दीर्घकालीन महत्वका रूपमा विधान संशोधन गरेर संघलाई समय अनुकूल र चुस्तसमेत बनाएको छ । निर्देशक समितिले ३२ वर्षको उमेर हद तोकेको छ । ‘नेविसंघमा ३२ वर्ष उमेर हद तोक्ने र पूर्ण समावेशी बनाउने विधान हामीले बनायौं त्यो संघका लागि दीर्घकालीन महत्वको विषय हो’, महतले भने, ‘अब विधानमै दुईदुई वर्षमा अधिवेशन गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ भने नयाँ संविधानअनुसार पूर्ण समावेशी र प्रादेशिक संरचनामा संगठन रूपान्तरित भएको छ । अहिले केन्द्रीय समितिमा समग्र नेपालको अनुहार पाइन्छ ।’

महतले निर्वाचनमार्फत नेतृत्वलगायतको पदाधिकारी चयन हुँदा विद्यार्थीहरू झनै खुसी भएको आफूले पाएको बताए । ‘रातभर मतदान गरेकोमा कोही पनि दुःखी छैनन्’, उनले भने, ‘मतदान भयो यो नै संघको जित हो भन्ने प्रतिनिधिहरूको भनाइ थियो ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.