स्क्रब टाइफसबाट एकको मृत्यु

स्क्रब टाइफसबाट एकको मृत्यु

चितवनः मुसामा हुने किर्नाजस्तै सानो कीरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट चितवनमा एकजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शुक्रबार भरतपुरमा रोगसम्बन्धी अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरी जिल्लामा स्क्रब टाइफस रोगको अवस्थाबारे जानकारी गराएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार वैशाखयता असार मसान्तसम्म चितवनमा स्क्रब टाइफस रोग देखा परेका ६७ जनामध्ये एकजनाको मृत्यु भएको छ । रोगको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये गत सोमबार एकजनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

असार मसान्तसम्म देशभरमा स्क्रब टाइफसका ९१ जना बिरामी फेला परेको र तीमध्ये तीनजनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । गत वर्ष देशभरमा फेला परेका स्क्रब टाइफसका ८२ जना बिरामीमध्ये आठजनाको मृत्यु भएको थियो ।

‘केही हप्तादेखि उच्च ज्वरोका बिरामीको संख्या बढेका थिए तर स्क्रब टाइफस रोगबाट मरेको जानकारी थिएन’, जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले भने, ‘चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४५ वर्षीया एकजना महिलाको स्क्रब टाइफसबाट मृत्यु भएको हो ।’

मुसाको किर्ना (माइट) मा पाइने ओरेन्टिया सुसुगामुसी नामक जीवाणुबाट रोग लाग्ने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा. विजयप्रसाद पौडेल स्क्रब टाइफस भएका बिरामीलाई एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको धेरै दुख्ने, माइटले टोकेको ठाउँमा डाबरजस्तो रातो दाग देखिने, पसिना धेरै आउने, आँखा रातो हुने लक्षण देखिने बताउँछन् ।

‘मानिसबाट मानिसमा नसर्ने भएकोले स्क्रब टाइफसबाट डराउनुपर्ने अवस्था छैन’, जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख मधुसूदन कोइराला भन्छन्, ‘माइट (मुसाको किर्ना) ले टोकेपछि मानिसमा रोग सर्ने भएकोले घाँसेमैदान, झाडी, बुट्यान, खेतबारी, चौर, दुबो भएको ठाउँमा नजाने र जानै पर्ने भएमा पूरै शरीर ढाकिने कपडा लगाउने गरेमा स्क्रब टाइफसबाट बच्न सकिन्छ ।’

समयमै उपचार नगरे श्वास प्रश्वाससम्बन्धी समस्याले बिरामी सिकिस्त हुने उनले जानकारी दिए । स्क्रब टाइफस रोगको निदानका लागि आवश्यक किट जिल्लामा नभएकोले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा माग गरिएको जनस्वास्थ्य कार्यालय प्रमुख कोइरालाले जानकारी दिए ।

निजी अस्पतालमा किट

चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा भने स्क्रब टाइफस निदान किट रहेको छ । अस्पतालका मेडिकल निर्देशक डा. दयाराम लम्साल वैशाखदेखि असार मसान्तसम्म अस्पतालमा उच्चज्वरोको उपचार गराउन आएकामध्ये स्क्रब टाइफसको आशंका भएका दुई सय २२ जनाको रक्त परीक्षण गर्दा एक सय चारजनामा रोग पाइएको बताउँछन् ।

यो तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकसँग मेल खाँदैन । ‘हामीले जिल्ला जनस्वास्थ्य कार्यालयमा शुक्रबार दिउँसोमात्र स्क्रब टाइफस बिरामीको रेकर्ड उपलब्ध गराएकोले तथ्यांक फरक पर्न गएको हो’, डा. लम्सालले भने, ‘सरकारी निकायको कुरा मैले जिम्मा लिन सक्दिनँ, तर हाम्रो अस्पतालमा असार मसान्तसम्म स्क्रब टाइफस भएका एक सय चारजनामध्ये एकजनाको मृत्यु भएको छ ।’ स्क्रब टाइफस रोग धेरै खतरनाक नभए पनि उपचार नगरी बसेमा भने गम्भीर हुन सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.