ब्राजिललाई फुटबलमा पहिलो स्वर्ण
![ब्राजिललाई फुटबलमा पहिलो स्वर्ण](https://annapurnapost.prixacdn.net/media/albums/Rio-Olympics-Soccer-M_Dutt--57baaa4e69dfb0.35484860_R9ISRlFALD.png)
रियो दी जेनेरियोः पाँच पटक सिनियर विश्वकप फुटबलको उपाधि जितेको ब्राजिलले पहिलो पटक ओलम्पिक फुटबलमा पनि स्वर्ण पदक हात पारेको छ । जारी रियो ओलम्पिकअन्तर्गत शनिबार राति भएको पुरुष फुटबलको फाइनलमा घरेलु टोलीले जर्मनीलाई टाइब्रेकरमा ५-४ गोलले हरायो । ब्राजिलमै दुई वर्षअघि आयोजित सिनियर विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७-१ गोलको विशालअन्तरले हराएको थियो । त्यतिबेला जर्मनीले विश्वकपको उपाधिसमेत चुमेको थियो ।
चोटका कारण उक्त विश्वकप खेल्न नसकेका चर्चित स्ट्राइकर नेमारकै प्रेरणामा ब्राजिलले ओलम्पिक फुटबलमा स्वर्ण हात पारेको हो । टाइब्रेकरमा उनकै प्रहार निर्णायक बन्यो । टोलीका लागि पाँचौं प्रहार गर्न आएका नेमार चुकेनन् ।
त्यसअघि दुवै टोलीले सुरुका चारचार प्रहारमा गोल गरेका थिए । तर पाँचौं तथा अन्तिम प्रहारमा जर्मनीका निल्स पिटर्सन गोल गर्नबाट चुकेका थिए । पिटर्सनको प्रहारलाई ब्राजिलका गोलरक्षक वेभर्टनले विफल पारेका थिए ।
त्यसपछि नेमारले गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाए । ‘निकै लामो प्रतीक्षापछि अन्ततः ओलम्पिकको स्वर्ण पदक हाम्रो भएको छ । यो स्वर्ण भगवान्को हो । भगवान्ले नेमारलाई माया गर्छन्, जसरी नेमारले टिमका सबै सदस्यलाई गर्छन्’, आफ्नो टोलीले उपाधि जितेपछि ब्राजिलका गोलरक्षक वेभर्टनले भने । नेमारले स्वर्ण सफलता आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताए । ओलम्पिकमा यू-२३ राष्ट्रिय टोलीले खेल्ने गर्छ, जसमा अधिकतम तीनजना खेलाडी २३ वर्षभन्दा बढी उमेरका सहभागी गराउन पाइन्छ ।
ब्राजिलले महिला र पुरुष दुवैतर्फ ओलम्पिक फुटबलमा स्वर्ण जित्न सकेको थिएन । यसअघि पुरुषतर्फ तीन पटक फाइनलमा पुगे पनि ब्राजिल रजत पदकमै सीमित भएको थियो । सन् २०१२ को लन्डन ओलम्पिकमा पनि ब्राजिल फाइनलमा पुगेको थियो । तर उपाधि भिडन्तमा ब्राजिललाई मेक्सिकोले हराएको थियो । त्यति बेलादेखि नै चर्चाको शिखरमा रहेका नेमारमाथि ब्राजिलले ठूलो अपेक्षा गरेको थियो ।
यसअघि नेमारले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय टोलीका लागि उपाधि जित्न भने सकेका थिएनन् । स्पेनिस क्लब बार्सिलोनाले कोपा अमेरिका र ओलम्पिकमध्ये एउटा प्रतियोगितामा मात्र नेमारलाई खेलाउन ब्राजिललाई आग्रह गरेपछि उनलाई ओलम्पिक टोलीमा मात्र समावेश गरिएको थियो । नेमारले यसपटक समूहगत चरणमा गोल नगरे पनि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तीनवटै चरणमा गोल गरे ।
ब्राजिलले जर्मनीसँग दुई वर्षअघि घरेलु मैदानमा व्यहोरोको नमीठो हारको बदला घरेलु मैदानमै लियो । ब्राजिलको राष्ट्रिय रंगशाला माराकानामा कप्तानसमेत रहेका नेमारले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । करिब ७० हजार दर्शकअघि खेलिएको उक्त खेलमा नेमारले फ्रिकिकमार्फत २५ यार्ड टाढाबाट गोल गरेका थिए । तर जर्मनीले ५९ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । जर्मनीका लागि म्याक्स मेयरले गोल गरेका थिए ।
टाइब्रेकरमा ब्राजिलका रेनाटो अगुस्टो, माक्र्विनहोस, रफिन्हा र लुवानले गोल गरे । जर्मनीका म्याथियास गिन्टर, सर्ज नाब्री, जुलियान ब्राट र निकलास सुलले गोल गरे । पहिलो हाफमा तीनवटा प्रहार बारमा लागेपछि जर्मनी पटकपटक चुकचुकाएको थियो । जर्मनीले ओलम्पिक फुटबलमा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन । नेमारले सिनियर राष्ट्रिय टोलीका लागि ७० खेलमा ४६ गोल र यू-२३ राष्ट्रिय टोलीका लागि १४ खेलमा आठ गोल गरेका छन् ।
नाइजेरियाले कांस्य जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा नाइजेरियाले होन्डुरसलाई ३-२ गोलले हरायो । जारी ओलम्पिक खेलकुदमा नाइजेरियाले जितेको यो पहिलो पदक हो । नाइजेरियाले खेलमा ३-० गोलको अग्रता लिएर पनि पछि दुई गोल व्यहोरेको थियो । ‘मलाई टोलीप्रति गर्व छ किनभने खेलाडीले धेरै मेहनत गरे । नाइजेरियामा फुटबल धेरै लोकप्रिय भएकाले हामीलाई अतिरिक्त दबाब थियो ।
तर हामीले आफ्ना लागि, परिवारका लागि र राष्ट्रका लागि पदक जित्न सफल भयौं’, नाइजेरियाका कप्तान जोन ओबी मिकेलले भने ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)