कांग्रेसका मन्त्रीको शपथ आज

कांग्रेसका मन्त्रीको शपथ आज

काठमाडौंः कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूलाई बिहीबार शपथ गराउने भएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथको प्रबन्ध मिलाउन आग्रह गरिसकेका छन् । मन्त्री चयनमा नेता रामचन्द्र पौडेलले नाम नपठाएपछि बुधबार अपराह्न हुने भनिएको शपथ कार्यक्रम स्थगित भएको थियो ।

कांग्रेस सभापति देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने भएकाले पनि बिहीबार शपथ गराउने निर्णयमा पुगेका हुन् । प्रधानमन्त्रीले मुख्यसचिव सोमलाल सुवेदीलाई शपथको प्रबन्ध गर्न आग्रह गरिसकेको स्रोतको दाबी छ ।

मन्त्री छनोटका विषयमा देउवाले बुधबार साँझ नेता पौडेललाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । छलफलमा देउवाले आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा पनि चार मन्त्रालय पाएकाले अहिले चारवटा मन्त्रालय लिन आग्रह गरेका थिए ।

पौडेलले भने आफूहरूलाई पाँच मन्त्रालय चाहिने अडान दोहोर्‍याएका थिए । पौडलले पार्टीको तेह्रौ महाधिवेशनमा पार्टीभित्र भागबन्डा अन्त्य हुनुपर्ने मुख्य एजेन्डा बनाएका थिए । ‘रामचन्द्रजीले पार्टीभित्र भागबन्डा राख्नु हुँदैन भनेर तेह्रौं महाधिवेशनमा नारा बनाउनुभएको हो । अहिले भाग माग्न कसरी मिल्छ ? ’ उक्त बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सभापतिजीले आफू पार्टी सभापति निर्वाचित भएपछि सबैलाई मिलाएर लैजाने र भागबन्डा अन्त्य भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताउनुभयो ।’

पौडेलले भने आफूलाई नसोधी मन्त्री नबनाउन देउवालाई आग्रह गरेका थिए । बिहीबार बिहानसम्म पौडेलले मन्त्रीको नाम नदिए देउवा आफैंले ११ जना मन्त्री चयन गरेर शपथ गराउने तयारी छ ।

पौडेलले संसदीय दलको निर्वाचनमा ३० प्रतिशत मात्रै मत पाएकाले पनि त्यही हाराहारीमा मन्त्री लिनुपर्ने संस्थापनको आग्रह छ । तर पौडेलले आफूले ४० प्रतिशत मन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री कोइरालाका पालामा देउवाले ४५ प्रतिशत संसदीय दलको चुनावमा मत पाए पनि ४० प्रतिशतमात्रै मन्त्री पाएका थिए ।

पौडेलले मन्त्री छनोटमा भागबन्डा मागेपछि महामन्त्री शशांक कोइरालाले दीपक गिरीलाई मन्त्रीका लागि सिफारिस गरेका छन् भने कोषाध्यक्ष सीतादेवी यादव आफैं मन्त्री बन्ने भएकी छन् । बाँकी दुई मन्त्री भने पौडेलको सिफारिसमा बनाउने तयारी छ । पौडेलले नाम नदिए क्षमता र योगदानका आधारमा देउवा आफंैले मन्त्री छानेर शपथ खुवाउने तयारी छ ।

बैठकमा सभापति देउवा, नेताहरू बालकृष्ण खाँड, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि सहभागी थिए । त्यस्तै पौडेल पक्षबाट प्रकाशमान सिंह, रामशरण महत, सीतादेवी यादव र मिनेन्द्र रिजाल सहभागी थिए ।

कांग्रेसबाट अर्जुननरसिंह केसी (शिक्षा), डा.प्रकाशशरण महत (परराष्ट्र) र बालकृष्ण खाँड (रक्षा) मन्त्री बन्ने निश्चित भएको छ । केसी यसअघि पनि शिक्षामन्त्री भएका थिए । डा.महत यसअघि ऊर्जामन्त्री र परराष्ट्र राज्यमन्त्री बनेका थिए । अन्तर्राष्ट्रिय सम्बन्धको राम्रो जानकार महत ‘फुलब्राइट स्कलर’ हुन् । खाँड पनि यसअघि शिक्षा राज्यमन्त्री हुँदै सिँचाइमन्त्री बनेका थिए । कार्यकर्तामा राम्रो पकड भएका उनी नेविसंघ र तरुण दलका अध्यक्षसमेत भइसकेका हुन् ।

सभापति देउवाले जीवनबहादुर शाहीलाई पनि मन्त्री बनाउने भएका छन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन । त्यस्तै केशवकुमार बुढाथोकी र मीन विश्वकर्मामध्ये एकजना मन्त्री हुने निश्चित छ । बुढाथोकी वा विश्वकर्माले श्रम मन्त्रालय पाउने सम्भावना छ ।

नेता कृष्णप्रसाद सिटौलाले भने युवा नेता गगन थापालाई मन्त्रीका लागि सिफारिस गरेका छन् । उनले सहरी विकास मन्त्रालय पाउने बताइएको छ । त्यस्तै खुमबहादुर खड्काको कोटाबाट भने मोहनबहादुर बस्नेत, शंकर भण्डारी र दीपक खड्काबीच प्रतिस्पर्धा छ । तीनमध्ये एकजना मन्त्री हुनेछन् ।

सभापति देउवाले बुधबार दिउँसो शपथ खुवाउने तयारी गरे पनि पौडेल पक्षले नाम नपठाउँदा पूरा हुन नसकेको हो । पौडेल पक्षले बिहान ८ बजे र अपराह्न ४ बजे दुईपटक आफूपक्षीय नेताहरूको भेला गरेर सम्मानजनक उपस्थिति हुनुपर्ने माग गरेको थियो । त्यसपछि साँझ सभापति भेट्न पौडेलसहितको टोली देउवा निवास पुगेको थियो ।

दुई मन्त्री छान्न पौडेललाई धौधौ

आफूपक्षीय नेताहरूको भेला बोलाएर सम्मानजनक उपस्थिति नभए सरकारमा नजाने दाबी गर्दै आएका नेता रामचन्द्र पौडेललाई चारजना मन्त्री छान्न मुस्किल परेको छ । महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्य दीपक गिरीलाई सिफारिस गरेका छन् भने कोषाध्यक्ष सीतादेवी यादव पनि मन्त्री बन्ने पक्का छ ।

बाँकी दुई मन्त्री छान्न भने धौधौ परेको छ । दुई मन्त्रीमा बलबहादुर केसी, नवीन्द्रराज जोशी, रोमी गौचन, आनन्दप्रसाद ढुंगानाले दाबी गरेका छन् । चारजनाबाट दुईजना छान्न गाह्रो भएकाले पनि पौडेलले मन्त्रीको नाम दिन ढिला गरेको स्रोतको दाबी छ । जनजाति र हिमाली क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी गौचन मन्त्री हुने सम्भावना बलियो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.