‘राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला पुग्नु जनयुद्धको देन’

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) निकट महिलाहरुको एकता राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले भने,‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ। राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख तीनै जना महिला हुनुहुन्छ। नेपालमा जनयुद्ध हुदैनथ्यो भने यो सम्भव थिएन। यो नेपाली जनयुद्धको देन हो।’
प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे। उनले भने,‘सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा लागिसकेको छ। नीति निर्माणको तहमा महिलाहरुको बलियो उपस्थितिका लागि स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न आग्रह गर्दछु।’
प्रधानमन्त्री प्रचण्डले महिलाहरु बिभाजित हुँदा परिवर्तनको आन्दोलन र एजेण्डा कमजोर हुन पुगेको भन्दै एकताले त्यसमा उर्जा प्रदान गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार गरीबको पक्षमा रहेकोमा जोड दिँदै दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरीबका लागि सरकार कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितहरुको पक्षमा छ भन्ने कुरा प्रमाणित भएको बताए।
प्रतिक्रिया दिनुहोस !
