कांग्रेसका १३ मन्त्रीले गरे पदबहाली

कांग्रेसका १३ मन्त्रीले गरे पदबहाली

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका १३ जना मन्त्री सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद् सदस्यको संख्या ३१ पुगेको छ । अझै केही राज्यमन्त्री र साना दलहरूलाई सरकारमा सहभागी गराउन बाँकी छ ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । शपथ खुवाएलगत्तै सबै मन्त्रीहरूले आआफ्ना मन्त्रालय पुगेर पद बहाली गरेका छन् ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पद बहाली गरेलगत्तै मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री डा. महतले उपलब्ध स्रोतसाधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय मातहतका सबै कार्यबारे नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा. महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोतसाधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे ।

उनले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी दिए । ठूलो संख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विपे्रषणलाई कम आँकलन गर्न नहुनेमा जोड उनको थियो । भारत र चीन दुवै नेपालका लागि महŒवपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उनले सम्बन्ध थप उचाइमा पुर्‍याउन पहल गर्ने विश्वास दिलाए । सत्तामा जो आए पनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वका साथ हेर्नुपर्ने उनको धारणा थियो ।

नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए । सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा शुक्रबार पदबहालीपछि गिरीले कर्मचारीलाई सम्बोधन गर्दै अनुशासन पालना गरेर सकारात्मक प्रभाव पर्ने बताए ।

‘अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन,’ गिरीले भने, ‘त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ । म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्यांकन गर्छु ।’ मन्त्री गिरीले दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।

शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले पनि पदबहाली गरेलगत्तै कर्मचारीलाई निर्देशन दिँदै कामप्रतिको ढिलासुस्ती र अपारदर्शिताले लोकतन्त्रलाई कुरूप बनाउने हुँदा त्यस कार्यतर्फ सजग हुन निर्देशन दिएकी छन् । उनले लोकतन्त्रमा सानो र ठूलो नभई कामले सानो र ठूलो छुट्ट्याउँछ भन्दै परिणाम प्राप्तिका लागि सदैव कामप्रति चनाखो भई काम गर्नुपर्ने समय आएको बताइन् ।

त्यसैगरी नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँडले पनि सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । पदबहाली पछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै खाँडले मुलुकको संविधान र कानुन कार्यान्वयनमा नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको बताए ।

‘नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भलाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरूप दिनुपर्छ’ खाँडले भने, ‘नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, संगठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राख्नेछु ।’

नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रह नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् । सि‌हदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले कुनै विचारका आधारमा काखा र पाखा नहुने बताए । ‘म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ’, मन्त्री बुढाथोकीले कर्मचारीलाई निर्देशन दिँदै भने ।

योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उनले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताए । उनले क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेसमेत जानकारी गराए ।

नवनियुक्त वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले पदबहाली गर्दै वन मन्त्रालयअन्तर्गतका विभागको संरचना व्यवस्थित गर्न निर्देशन दिएका छन् । मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गरेका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीलगायत नागरिक समाजले उठाएको स्वास्थ्य शिक्षामा हुने भ्रष्टाचार अन्त्य गरिनुपर्ने माग सम्बोधन गर्नु आफ्नो नैतिक दायित्व भएको बताए । मन्त्री थापाले शपथलगत्तै शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहणका क्रममा स्वास्थ्य शिक्षामा भइरहेको भ्रष्टाचार रोक्न नागरिक स्तरबाट भइरहेको विरोधबारे आफू जानकार रहेको बताए । उनले त्यस्तो विरोधको स्वर कहिल्यै नउठ्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्नु आफ्नो प्राथमिकता भएको बताएका हुन् ।

मन्त्री थापाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य सम्बन्धमा श्रम तथा रोजगार मन्त्रालयमा रहेको समितिमा विशेषज्ञ पठाउने टिप्पणी सदर गर्ने निर्णय गरेका छन् ।

नवनियुक्त सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पदबहाली गरेलगत्तै राजधानी काठमाडौं र ठूला सहरलाई व्यवस्थित गर्न बसाइँ सराइ रोक्ने कार्यक्रम ल्याउने बताए । उनले बसाइँ सराइ रोक्न गाउँगाउँमा नै पूर्वाधार विकास गरेर सहर बनाउन ध्यान केन्द्रित गर्ने बताए ।

मन्त्री केसीले सहरी विकासका नयाँ कार्यक्रम तय गर्नुपहिले मन्त्रालयका योजनाहरू अध्ययन गर्ने बताए । वाणिज्यमन्त्री रोमी गौचन, उद्योगमन्त्री नवीन्द्रराज जोशी, सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी र पर्यटन तथा संस्कृतिमन्त्री मीनबहादुर शाहीले पनि पद बहाली गरेका छन् ।
यी हुन् नयाँ मन्त्री
डा. प्रकाशशरण महत, परराष्ट्र
अर्जुननरसिंह केसी, सहरी विकास
दीपक गिरी, सिँचाइ
सीतादेवी यादव, शान्ति तथा पुनर्निर्माण
बालकृष्ण खाँड, रक्षा
केशवकुमार बुढाथोकी, सामान्य प्रशासन
शंकर भण्डारी, वन
गगन थापा, स्वास्थ्य
सूर्यमान गुरुङ, श्रम
जीवनबहादुर शाही, पर्यटन
नवीन्द्रराज जोशी, उद्योग
रोमी गौचन, वाणिज्य
हृदयराम थानी, सहकारी तथा गरिबी निवारण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.