ओलम्पिक पदकपछि विवाहको तयारी
एजेन्सीः विश्वभर अहिले रियो ओलम्पिकको समीक्षा भइरहेको छ । पदक नजितेका कतिपय मुलुक निराशा देखिएका छन् भने पदक जितेका मुलुकमा हर्षोल्लास छ । जनसंख्याको हिसाबले भारत विश्वकै दोस्रो ठूलो देश हो ।
एक अर्ब ३३ करोडभन्दा बढी जनसंख्या भएको भारतले रियो ओलम्पिकमा एक रजत र एक कांस्य पदकमात्र जित्यो । संयोगवश दुईवटै पदक जित्ने सौभाग्य महिला खेलाडीले प्राप्त गरे ।
रियो ओलम्पिकमा भारतलाई पहिलो कांस्य पदक दिलाएकी थिइन्, कुस्ती खेलाडी साक्षी मलिकले । साक्षीले भारतका लागि पहिलो पदक जित्नेबित्तिकै भारत सरकारले तीन करोड रुपैयाँ पुरस्कार दिने घोषणा गर्यो ।
हरियानाकी २३ वर्षीया साक्षीले सानो स्थानबाट उठेर देशलाई चिनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उनको प्रशंसा गरे । मोदीले रियोमा भारतको सान बढाउन चेलीको योगदान ठूलो रहेको सार्वजनिक अभिव्यक्ति दिए ।
हरियानाका सानो गाउँमा लुकेर कुस्ती खेलमा रमाएकी साक्षी एकाएक सेलीब्रेटी बनिन् । रियोमा कांस्य जितेर फर्किएपछि साक्षीलाई अहिले सरकारबाट पुरस्कार र रोजगारीको घोषणामात्र होइन उनलाई हरियाना राज्यको ‘बेटी बचाओ, बेटी पढाओ (छोरी बचाऔं, छोरीलाई पढाऔं)’ अभियानकी सद्भावना दूतमा पनि नियुक्त गरिएको छ । रियो ओलम्पिकमा कांस्य जितेर एकाएक चर्चामा आएकी साक्षी अहिले सम्मान र पुरस्कारबाट पुकलित भएकी छन् ।
उनले रियो ओलम्पिकमा आफ्नो सफलताका पछाडि आफ्नो केटा साथीको समेत हात रहेको खुलासा गरेकी छन् । भारतको समाचार संस्था इन्डिया टुडेसँगको कुराकानीमा साक्षीले छिट्टै विवाह गर्न लागेको समेत बताइन् ।
‘म छिट्टै विवाह बन्धनमा बाँधिन चाहन्छु, मेरो जीवनसाथीले आगामी दिनमा पनि मलाई खेलमा सघाउने विश्वास छ । रियोमा पदक जित्नका पछाडि पनि उनको ठूलो हात छ’, साक्षीले भनिन् । सन् २०२० को टोकियो ओलम्पिकमा देशलाई पदक दिलाउने विश्वास उनले व्यक्त गरिन् ।
साक्षीमात्र होइन, भारतलाई रजत पदक दिलाएकी ब्याडमिन्टन खेलाडी पीवी सिन्धुको पनि चर्चा र सम्मानमा कुनै कमी छैन । उनलाई पनि तत्काल भारत सरकारले पाँच करोड रुपैयाँ पुरस्कार घोषणा गरेको थियो । सिंगो भारतले अहिले साक्षी र सिन्धुबाट हरेक महिलाले प्रेरणा लिनुपर्ने अभियान चलाएको छ । चेलीलाई अवसर, सम्मान र शिक्षा दियो भने संसार जित्न सक्छन् भन्ने धारणा अगाडि सारिएको छ ।
आइतबार मात्र रियोमा रजत जितेकी पीवी, साक्षी, पीवीका प्रशिक्षक पुलेला गोपीचन्द र जिम्न्यास्टिक खेलाडी दीपा करमाकरलाई बीएमडब्लू कारबाट पुरस्कृत गरिएको छ । जिम्न्यास्टिककी दीपा झिनो अन्तरले कांस्यपदकबाट चुकेकी थिइन् । रियो ओलम्पिकका यी तीन भारतीय महिला खेलाडी र ब्याडमिन्टन प्रशिक्षकलाई हैदराबाद ब्याडमिन्टन एसेसिएसनले बीएमडब्लू कारबाट पुरस्कृत गरेको हो ।
बीएमडब्लू कारबाट पुरस्कृत भएपछि पीवीले आफ्नो लक्ष्य विश्व नम्बर एक बन्नु रहेको प्रतिक्रिया दिइन् । उनलाई रियो आलम्पिकका सद्भावनादूत सचिन तेन्दुल्करले बीएमडब्लू हस्तान्तरण गरे । रियो ओलम्पिकपछि भारतका महिला खेलाडीमात्र होइन, महिलाका पक्षमा वकालत गर्नेहरूको अनुहारमा समेत चमक देखिएको छ । महिलालाई अवसर दिनुपर्ने आवाज चुलिएको छ ।