सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने
काठमाडौं: जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले हाल मुलुकले भोग्दै आएको ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत् एवम् सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिएको बताएका छन्।
मन्त्री जोशीको सम्मानमा ऊर्जा विकास परिषद्ले बिहीबार आयोजना गरेको स्वागत समारोहमा उनले यातायात क्षेत्रमा इन्धनको ठूलो हिस्सा खपत हुने गरेको र यसको आयातमा विदेशी मुद्रा खर्च हुने र वातावरणमा पनि असर पुगेकाले अब विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने बताए। यसका लागि छोटो तथा लामो दूरीका विद्युतीय सवारी सञ्चालन गर्न ठाउँठाउँमा चार्जिङ सेन्टरहरु निर्माण गरिने मन्त्री जोशीले बताए।
वातावरण र जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने विभिन्नखालका प्रदूषणको दिगो समाधानका लागि मन्त्रालयले छिट्टै प्रदूषण नियन्त्रण रणनीति र कार्ययोजना ल्याउन लागेको मन्त्री जोशीले जानकारी दिए। परिषद्का सुजीत आचार्यले सौर्य ऊर्जा प्रविधि र जलविद्युत्को विकाससँगै ऊर्जा दक्षताको माध्यमबाट न्यूनतम विद्युत् खपत गरी अधिकतम ऊर्जाको मागलाई पूर्ति गर्न सकिने बताएका थिए।
परिषद्ले विशेष गरेर जलविद्युत्, सौर्य ऊर्जा र अन्य वैकल्पिक ऊर्जा क्षेत्रमा देखा परेका समस्या उजागर गर्ने, तिनलाई समाधान गर्न आवाज उठाउने र नीति निर्मातालाई स्वदेशी ऊर्जा विकासका लागि घचघच्याउने काम गर्दै आएको छ। रासस
प्रतिक्रिया दिनुहोस !