व्यक्तिको कोरा जीवनी लेखेर काम छैनः बाबुराम
काठमाडौँः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले व्यक्तिको कोरा जीवनी मन नपर्ने बताएका छन् । शनिबार आफ्नै जीवनी पुस्तक सार्वजनिक समारोहमा बोल्दै भट्टराईले भने, ‘व्यक्तिको कोरा जीवनी लेखेर काम छैन । समकालीन घटनाको सान्दर्भिकतासँग जोडिएर लेख्न लेखकलाई सुझाव दिएको थिएँ ।’
उनले आफ्नो विषयमा लेखिएको पुस्तकबारे आफैंले बोल्नु उपयुक्त नहुने भन्दै धेरै बोल्न चाहेनन् । राजधानीमा आयोजित कार्यक्रममा अनिल थापाद्वारा लिखित ‘अविराम बाबुराम’ पुस्तकको सार्वजनिक बाबुरामका पिता भोजप्रसाद भट्टराईले गरे ।
कार्यक्रममा बोल्दै नेत्री मनु हुमागाईंले आफू राजनीतिमा नलाग्दैदेखि बाबुराम भट्टराईको बारेमा चासो राख्ने गरेको बताइन् । ‘पछि उहाँजस्तो विद्वान् भएको पार्टीमा लाग्नुपर्छ भन्ने लागेर उहाँ भएकै पार्टीमा लागेँ’, उनले भनिन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले पुस्तकले भट्टराईको व्यक्तित्वबारे जानकारी दिने र नयाँ बहस सिर्जना गर्ने धारणा राखे । उनले भट्टराईले माओवादीमा ठूलो अन्तरसंघर्ष गरेर माओवादीलाई लोकतान्त्रिक गणतन्त्रको बाटोतिर मोडेकोमा प्रशंसासमेत गरे । अर्का वक्ता प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले पुस्तकभन्दा बाबुरामको व्यक्तित्वबारे बोलेका थिए ।
पुस्तकमा बाबुरामको बाल्यकाल, पढाइलेखाइ, राजनीति जीवनलगायतका विषय समेटिएका छन् । पुस्तकमा भट्टराईको जीवनलाई केन्द्रमा राखेर लेखकले समकालीन नेपाली राजनीतिक घटनाक्रमलाई समेत उजागर गरेका छन् । पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो । ३३६ पृष्ठको पुस्तकको मूल्य चार ४८ रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !