प्रधानमन्त्री असोज ३ मा न्युयोर्क जाने
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ अन्तिमदेखि सुरु हुने भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका जाने भएका छन् ।
भदौ ३० गते भारतको औपचारिक भ्रमणमा जान लागेका दाहाल असोज २ गते नेपाल फर्कने कार्यक्रम छ । नेपाल फर्किएलगत्तै उनी असोज ३ गते अमेरिका जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्क जान लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका जाने प्रतिनिधिमण्डलमा प्रधानमन्त्री दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीलगायत छन् ।
दाहालले भारत जानुअघि नै वर्तमान गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउने तयारी गरेका छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा रहेकाले संविधान संशोधनका विषयमा छलफल हुन सकेको थिएन ।
देउवा शनिबार फर्किएकाले छिट्टै राजनीतिक दलहरूबीच छलफल गरेर संविधान संशोधन प्रस्ताव अघि बढाउने सत्तारूढ गठबन्धनको तयारी रहेको उपप्रधानमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । 'छिट्टै सबै राजनीतिक दलहरूसँग परामर्श गरेर संविधान संशोधन प्रस्ताव अघि बढ्छ,' निधिले भने, 'मधेसी दलहरूसँग भएको सहमतिका आधारमा संशोधन प्रस्ताव तयार हुन्छ ।'
सत्ताका दुई मुख्य घटक कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनका विषयमा असहमति राख्दै आएका प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग सहमतिको प्रयास गर्ने उपप्रधानमन्त्री निधिले बताए ।
भदौ अन्तिममा प्रधानमन्त्री भारत जाने र त्यसलगत्तै अमेरिका गएर असोज १२ गतेमात्रै नेपाल फर्कने भएकाले पनि संविधान संशोधन प्रस्ताव त्यसअघि नै संसद्मा दर्ता गर्ने तयारी गरिएको स्रोतले बतायो । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज चौथो साता नेपाल भ्रमणमा आउने तयारी भइरहेकाले त्यसअघि नै संविधानमा देखिएको असन्तुष्टि सरकारले पूरा गर्ने प्रयास गरेको देखाउन पनि संशोधन प्रस्ताव दर्ता गर्न तयारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !