‘छोरी हुनु नै दुःख हो’
अघिल्लो शनिबार सर्वनाम थिएटरमा आयोजित पाँच नारी कविताको पच्चीस कवितावाचन कार्यक्रममा आफ्नो दोस्रो कवितासंग्रह ‘कलम र म’ सार्वजनिक गरेकी रञ्जना निरौलासँग लक्ष्मण श्रेष्ठले सोधेका प्रश्न र जवाफ :
१. कविता भनेको के हो ? कविताले जीवनको सबै आयाम समेट्छ जस्तो लाग्छ ?
कविता भनेको जीवन हो । यो भावना, यथार्थ, कल्पना र अनुभूतिको रङ हो । एउटै कविताले जीवन समेट्न नसके पनि यो जीवनको दर्पण भने हो ।
२. कविता किन लेख्नुहुन्छ ?
आनन्द लाग्छ त्यसैले । कवितामा आफैँ पोखिन पाइन्छ ।
३. तपाईंको कवितामा के छ ? रञ्जना निरौलालाई किन पढ्ने ?
मेरो कवितामा मै छु । मैले देखेका, भोगेका, कल्पना गरेको, रमाएका अनुभूति र मेरा इच्छा–चाहना छन् यी कवितामा । मेरा कविता पढिनुपर्छ जस्तो लाग्छ किनभने यो समाजको एउटा पात्र म पनि हुँ । मेरा कवितामा यो देशको जनता भएर, आमा भएर, छोरी भएर, एक प्रेमिका भएर भोगेका भोगाइहरू आउँछन् ।
४. तपाईंलाई कविता संग्रह प्रकाशन गरिनुपर्छ भन्ने किन लाग्यो ? तपाईंको कवि जीवनको कुन चरणमा राख्न सकिन्छ यसलाई ?
म साहित्यिक यात्रामा कति उक्लिन सकेँ भन्ने पाठकबाट प्रतिक्रिया आउँला भन्ने ठानेर प्रकाशनमा ल्याएकी हुँ । यो मेरो प्रारम्भ हो । म कविता लेख्न सिक्दैछु ।
५. छोरीमान्छे भएर कविता लेख्नुका दुःख के हुन् ?
हामी बाँचिरहेको समाजमा आज पनि छोरी हुनु नै दुःख हो ।