माओवादीका पूर्वलडाकु तरुण दलको अध्यक्षमा निर्वाचित
गोरखाः माओवादीका पूर्वलडाकु नेपाल तरुण दल गोरखाका अध्यक्षमा निर्वाचित भएका छन्।
गोरखा सदरमुकाममा शुक्रवार साँझ सकिएको चौथो जिल्ला अधिवेशनबाट माओवादीका पूर्वलडाकू यमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका हुन्। कुल खसेको २१९ मत मध्ये अध्यक्षमा निर्वाचित पूर्व लडाकु थापाले एक सय ९७ मत प्राप्त गरेका थिए।
अध्यक्षका अन्य प्रत्याशीहरु ध्रुब गुरुङले १३ र हेमराज घिमिरेले ८ मत प्राप्त गरे। थापा गत २०७० सालमा तत्कालीन नेकपा (माओवादी) परित्याग गरी कांग्रेसमा पार्टी प्रवेश गरेका हुन्।
दलको उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा चित्रप्रसाद भट्ट र कोषाध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन्। चौथो जिल्ला अधिवेशनले कमलप्रसाद अम्गाईँ, जगत बराम, गौरी तामाङ, शान्ति रिजाल, चेतबहादुर गुरुङ, सरोज परियार र रीता अधिकारीलाई केन्द्रीय पार्षदका रुपमा चयन गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए।
तरुण दल गोरखाको क्षेत्र नम्बर १ को सभापतिमा प्रवीण बस्नेत, दुईमा लोकबहादुर लिम्बू र क्षेत्र नम्बर ३ मा गजे घले निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस !